महेन्द्रनगर: कञ्चन समाजको २९औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन एक कार्यक्रमका साथ सम्पन्न भएको छ।

सनिवार संस्थाको सभाहलमा कञ्चन समाज कञ्चनचोक ऐठपुर कञ्चनपुरको २९औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन सम्पन्न भएको हो। सातौं अधिवेशन बाट सूर्यबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

प्रमुख निर्वाचन अधिकृत हरक सिंह धामीका अनुसार अधिवेशनले उपाध्यक्षमा लालबहादुर सिंह, सचिवमा नितेश रावल, सहसचिवमा सुनिता सिंह र कोषाध्यक्षमा खड्क बिष्टलाई सर्वसम्मत चयन गरेको छ। त्यस्तै, सदस्यहरूमा दुर्गा जोशी, लक्ष्मी धामी, गीता जोशी, नवराज भट्ट, सन्तोष नेपाली, रोहित लेखक र अनुराग चन्द चयन भएका छन्।

यसअघि सम्पन्न साधारणसभामा समाजका सदस्य एवम् कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले स्वागत मन्तव्य राख्नुभएको थियो। समाजका सचिव ललित सिंहले समाजले हालसम्म गरेका विभिन्न गतिविधि तथा कार्यप्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्रतिवेदन प्रस्तुत गर्दै सचिव सिंहले समाजको आगामी योजनाबारे जानकारी दिँदै समाजको भवनमा दोस्रो तला थप गर्ने तथा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो।
कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष धर्मराज जोशीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा समाजका संस्थापक अध्यक्ष एवम् कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुरेश रावल रहनुभएको थियो।
कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष प्रकाश चन्द, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्दलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
नवनिर्वाचित कार्यसमितिले समाजको सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउँदै भवन निर्माण, सीपमूलक तालिम तथा समाजको संस्थागत विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।











