कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ६ मा युवाहरुलाई स्वरोजगार बनाउन नि:शुल्क एसी, फ्रिज, कुलर तथा वासिङ मेसिन मर्मत तालिम सञ्चालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ वडा कार्यालय र नेपाल युथ फाउन्डेसन नेपालको संयुक्त आयोजनामा स्थानीय युवालाई सीप संग जोड्दै स्वरोजगार बनाउने उद्देश्यले १ महिने नि:शुल्क एसी, फ्रिज, कुलर तथा वासिङ मेसिन उपकरण मर्मत तालिम सञ्चालन गरिएको छ् । तालिममा नगर क्षेत्रका विभिन्न वडाका २३ जना युवाको सहभागिता रहेको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जानकारी दिनुभएको छ् ।

युवालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । पछिल्लो समय जलवायु परिवर्तन संगै दोधारा चाँदनीमा घरघरमा एसी, फ्रिज तथा कुलरको प्रयोग बढ्दै गएको छ् । तर, ती उपकरणमा समस्या आएपछि स्थानीय स्तरमा दक्ष प्राविधिकको अभाव हुदा सदरमुकाम महेन्द्रनगर तथा सीमावर्ती भारतीय बजारबाट प्राविधिक बोलाउनुपर्ने अवस्था रहेको तालिमका सहभागी दशरथ भट्टले बताउनुभयो । तालिममा सैद्धान्तिक र व्यवहारिक ज्ञान सिकाईएको उहाँले बताउनुभएको छ् ।

यस प्रकारका तालिमले यूवाहरुलाई स्थानिय स्तरमानै रोजगारीका अवसर सिर्जना गरी विदेश पलायन हुने अवस्थामा कमी आउने तालिमका सहभागी दशरथ भट्टले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालयले आगामी दिनहरुमा युवाहरुलाई लक्षित गर्दै एसी, फ्रिज, कुलर तथा वासिङ मेसिन उपकरण मर्मत एडवान्स तालिम सञ्चालन गर्ने बताएको छ् ।











