वन्यजन्तु संरक्षणमा मिडियाको खबरदारी, शुक्लाफाँटाबाट सहकार्यको नयाँ सन्देश


हेमा भट्ट/ कञ्चनपुर – वन्यजन्तु अपराध नियन्त्रणसँगै जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षणमा सञ्चारमाध्यमको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले कञ्चनपुरमा सञ्चारकर्मी र संरक्षणकर्मीबीच अन्तरक्रिया गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) शुक्लाफाँटा संरक्षण कार्यक्रमको आयोजनामा बिहीबार कञ्चनपुरको चाँदमारीमा ‘सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रणमा मिडिया संलग्नता र जागरूकता’ विषयक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागी सरोकारवालाले वन्यजन्तु अपराध नियन्त्रण केवल कानून कार्यान्वयनको विषय नभई नागरिक चेतना, समुदायको सहभागिता, जिम्मेवार सूचना प्रवाह र संरक्षणप्रतिको साझा प्रतिबद्धतासँग जोडिएको विषय भएको बताएका छन्। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका हेमराज विष्टले वन्यजन्तु तथा जैविक विविधता संरक्षण राज्यको मात्र नभई समुदाय, सञ्चारमाध्यम, सुरक्षा निकाय, संरक्षणकर्मी र प्रत्येक नागरिकको साझा दायित्व भएको बताउनुभयो। उहाँले संरक्षणका विषयलाई जनस्तरसम्म पुर्‍याउन सञ्चारमाध्यमले तथ्यमा आधारित, संवेदनशील र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताउँदै वन्यजन्तु अपराधका घटनासँगै संरक्षणका सकारात्मक प्रयास र समुदायको योगदानलाई समेत उजागर गर्नुपर्नेमा जोड दिनुभयो। वन्यजन्तु संरक्षणका लागि कानूनसँगै जनचेतना र व्यवहार परिवर्तन आवश्यक छ। सही सूचना सही समयमा समुदायसम्म पुग्दा संरक्षण अभियान अझ प्रभावकारी बन्न सक्छ, विष्टले भन्नुभयो। उहाँले सञ्चारमाध्यम संरक्षणको निगरानी गर्ने महत्वपूर्ण माध्यम मात्र नभई समाजमा संरक्षण चेतना निर्माण गर्ने प्रभावकारी साझेदारसमेत भएकाले संरक्षणकर्मी र पत्रकारबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा लक्ष्मीप्रसाद जोशीले राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित शुक्लाफाँटा संरक्षण कार्यक्रमका गतिविधि, उपलब्धि, संरक्षणमा पुर्‍याउँदै आएको योगदान तथा आगामी प्राथमिकताबारे विशेष जानकारी प्रस्तुत गर्नुभयो। जोशीले शुक्लाफाँटा संरक्षण कार्यक्रमले वन्यजन्तु संरक्षणलाई वन तथा निकुञ्ज क्षेत्रमा मात्र सीमित नराखी स्थानीय समुदायको जीविकोपार्जन, मानव-वन्यजन्तु सहअस्तित्व, संरक्षण शिक्षा, अनुसन्धान, पर्यापर्यटन, वातावरण संरक्षण र सामुदायिक सहभागितासँग जोडेर अघि बढाइरहेको बताउनुभयो। उहाँका अनुसार शुक्लाफाँटा क्षेत्रमा सन् १९९९ देखि वन्यजन्तु अनुसन्धान तथा अनुगमनका गतिविधि सुरु भएको र सन् २००२ देखि शुक्लाफाँटा संरक्षण कार्यक्रमको कार्यालय स्थापना गरी संरक्षणका गतिविधिलाई निरन्तरता दिइँदै आएको छ। कार्यक्रममार्फत बाघ तथा आहार प्रजातिको अनुगमन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका एकसिङ्गे गैँडाको नियमित अनुगमन, हिरापुरफाँटामा स्थानान्तरण गरिएका कृष्णसारको व्यवस्थापन तथा गैँडा, घडियाल गोही र बाह्रसिङ्गालगायतका वन्यजन्तुको संरक्षणमा सहयोग हुँदै आएको जानकारी दिइयो।

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सुरक्षित बाख्राखोर निर्माण, मेस तारजाली, जैविक बार, विद्युतीय तारबार, सोलार बत्ती, साइरन तथा वन्यजन्तुले नखाने बाली प्रवर्द्धनजस्ता उपाय कार्यान्वयनमा ल्याइएको जोशीले जानकारी दिनुभयो। त्यसैगरी स्थानीय समुदायको आयआर्जन र आत्मनिर्भरता बढाउन वैकल्पिक जीविकोपार्जन, सीपमूलक तालिम, कृषि तथा पशुपालन, मौरीपालन, तरकारी तथा ओखर खेतीलगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि प्रकृति पथप्रदर्शक, अतिथि सत्कार तथा होमस्टे व्यवस्थापनसम्बन्धी तालिमसमेत सञ्चालन गरिएको छ। वन तथा वातावरण संरक्षणअन्तर्गत वन नर्सरीबाट बिरुवा उत्पादन तथा वितरण, घाँसे मैदान र पानीका पोखरी व्यवस्थापन, मिचाहा प्रजाति नियन्त्रण तथा वन डढेलो नियन्त्रणमा समेत कार्यक्रमले सहयोग गर्दै आएको छ। जलवायु परिवर्तनबाट वन्यजन्तु, वासस्थान र समुदायमा पर्न सक्ने जोखिम न्यूनीकरण तथा अनुकूलनका विषयलाई समेत संरक्षण गतिविधिसँग जोडिएको छ।

वन्यजन्तु अपराध नियन्त्रणका लागि प्रदेश तथा जिल्ला तहका वन्यजन्तु अपराध नियन्त्रण इकाइ, मध्यवर्ती क्षेत्र उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता समूह तथा समुदायमा आधारित चोरीशिकार नियन्त्रण समूहसँग समन्वय गर्दै आएको जानकारी पनि कार्यक्रममा दिइएको थियो। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव भोजराज पाठकले वन्यजन्तु संरक्षणलाई स्थानीय समुदायको जीविकोपार्जन र विकाससँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो। संरक्षण अभियानलाई दिगो बनाउन सरकारी निकाय, सुरक्षा संयन्त्र, स्थानीय समुदाय, संरक्षणकर्मी र सञ्चारमाध्यमबीच निरन्तर समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले वन्यजन्तु संरक्षणसँगै मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई प्राथमिकतामा राखेर संरक्षण गतिविधि सञ्चालन भइरहेको बताउनुभयो। वन्यजन्तुको बासस्थान संरक्षण, उद्धार तथा अनुगमन, अपराध नियन्त्रण र समुदायमा संरक्षण चेतना विस्तारका लागि सरोकारवाला निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा वन्यजन्तु अपराधका स्वरूप, अपराध नियन्त्रणमा सञ्चारमाध्यमको भूमिका, समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने संवेदनशीलता, उद्धार तथा संरक्षणसम्बन्धी सूचना प्रवाह, मानव-वन्यजन्तु सहअस्तित्व र समुदायमा संरक्षण चेतना विस्तारलगायतका विषयमा अन्तरक्रिया गरिएको थियो। सञ्चारकर्मीहरूले वन्यजन्तु अपराध तथा संरक्षणका विषयमा समाचार सम्प्रेषण गर्दा प्रमाण, तथ्य, कानूनी प्रक्रिया र संरक्षणको संवेदनशीलतालाई प्राथमिकतामा राख्दै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा कैलाली र कञ्चनपुरका नेपाल पत्रकार महासंघका अध्यक्ष, सञ्चारकर्मी, संरक्षणकर्मी तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन शुक्लाफाँटा संरक्षण कार्यक्रमकी कर्मचारी प्रिया शाहीले गर्नुभएको थियो। जोशीले शुक्लाफाँटा संरक्षण कार्यक्रमको संरक्षण यात्रालाई अझ प्रभावकारी बनाउन स्थानीय समुदाय, सञ्चारमाध्यम र सरोकारवाला निकायबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो।समग्रमा कार्यक्रमले वन्यजन्तु संरक्षणलाई अपराध नियन्त्रणको दायराभन्दा अघि बढाएर प्रकृति, समुदाय, सञ्चार र सहअस्तित्वको साझा अभियानका रूपमा विकास गर्नुपर्ने सन्देश दिएको छ। सुदूरपश्चिमको समृद्ध जैविक विविधता र प्राकृतिक सम्पदा संरक्षणमा जिम्मेवार सञ्चार, सचेत समुदाय र प्रभावकारी समन्वयलाई आधार बनाउँदै अघि बढ्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको हो।‘जिम्मेवार मिडिया, बलियो संरक्षण’ भन्ने सन्देशले वन्यजन्तु संरक्षणमा सञ्चारमाध्यम र संरक्षणकर्मीबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img