धनगढी: लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि लक्षित ‘एन्टि जेन्डर मुभमेन्ट’ का विषयमा जनप्रतिनिधिसँग छलफल कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीमा नील हिरा समाजको आयोजना तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासंघको समन्वयमा उक्त छलफल कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा धनगढी उपमहानगरपालिका–२ का वडा अध्यक्ष धर्मराज ओझा, वडा सदस्य तथा कार्यपालिका सदस्यलगायत लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा ‘एन्टि जेन्डर मुभमेन्ट’ तथा नागरिकतासम्बन्धी हक–अधिकारका विषयमा भक्ती शाहले जानकारी गराउनुभएको थियो। वडा नं. २ का अध्यक्ष धर्मराज ओझाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान र हक–अधिकारका विषयमा समुदायस्तरबाटै पछिल्लो समय सकारात्मक परिवर्तन आएको बताउनुभयो। उहाँले आगामी दिनमा यस विषयलाई थप प्रभावकारी बनाउन समुदायसम्बन्धी तथ्याङ्क यकिन हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका सहभागीहरूले सामाजिक स्तरदेखि सरकारी संघ–संस्था, जनप्रतिनिधि हुँदै उच्चस्तरीय पदमा रहेका व्यक्तित्वहरूसम्म लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका विषयमा थप सचेतना आवश्यक रहेको सुझाव दिएका थिए।
सहभागीहरूले कानुनी प्रक्रिया झन्झटिलो हुनुका साथै विभिन्न प्रकारका असहजता भोग्नुपरेको गुनासोसमेत गरेका थिए। हक–अधिकार प्राप्तिका लागि नागरिकतामा नाम परिवर्तन गर्न कानुनी लडाइँ लड्न बाध्य हुनुपरेको उनीहरूको भनाइ थियो। नागरिकतामा नाम परिवर्तनलगायतका विषयमा न्यायका लागि कैलाली र कञ्चनपुर जिल्लाबाट चार जनाले अदालतमा निवेदनसमेत पेश गरेको जानकारी कार्यक्रममा गराइएको थियो।










