राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर : क्रिकेट विकासलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटामा ‘शुक्लाफाँटा ब्ल्याकबक्स क्रिकेट एकेडेमी’ सञ्चालनमा ल्याउन लागिएको छ । एकेडेमीमार्फत स्थानीय तथा नयाँ पुस्ताका खेलाडीलाई उच्चस्तरीय प्रशिक्षण प्रदान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको छ । एकेडेमीका अध्यक्ष विवेक रावलका अनुसार क्रिकेट खेलको विकासका लागि विगतदेखि हुँदै आएका सामाजिक तथा खेलकुद गतिविधिलाई थप व्यवस्थित गर्दै एकेडेमीको नयाँ सुरुवात गर्न लागिएको हो । क्रिकेट खेलमा उत्कृष्ट सम्भावना बोकेका खेलाडीलाई आवश्यक प्रशिक्षण, अवसर र वातावरण उपलब्ध गराउने एकेडेमीको उद्देश्य छ ।एकेडेमीले खेलाडीका सपना पूरा गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ । शुक्लाफाँटा नगरपालिका क्षेत्रका ललितसिंह भण्डारी, आशिष लुहार र सुशील रावलजस्ता प्रतिभावान खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा देशको झण्डा फहराउन सफल भएको स्मरण गर्दै अब यही ऐतिहासिक विकासलाई अझ अगाडि बढाउने संकल्प गरिएको छ ।

यो संस्था केवल क्रिकेट सिकाउने स्थान मात्र नभई स्थानीय युवाको सपना पूरा गर्ने साझा अभियानका रूपमा अघि बढाइने क्रिकेटका उदियमान प्रशिक्षक साजन गौतमले बताउनु भयो । उहाँका अनुसार खेलाडी, प्रशिक्षक, अभिभावक, खेलप्रेमी तथा सम्पूर्ण समुदायको सहकार्यमा एकेडेमीलाई अघि बढाउने योजना रहेको छ ।एकेडेमी सञ्चालनका लागि शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनको अध्यक्षको संयोजकत्वमा व्यवस्थापन तथा सञ्चालनसम्बन्धी उपसमिति गठन गरिएको जनाइएको छ । व्यवस्थापन तथा व्यक्तिगत सम्बन्धको जिम्मेवारी हरिश अवस्थीले सम्हाल्ने तथा मेन्टर एवं अनुशासन इन्चार्जका रूपमा प्रदीप हमाल र राजु सुनार रहने व्यवस्था गरिएको छ।खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण प्रदान गर्न कोचिङ प्यानलसमेत तयार गरिएको छ। एकेडेमीमा एस एन्ड सी कोच तथा नेपाल क्रिकेट संघ का विभिन्न क्षेत्रीय र राष्ट्रिय स्तरका प्रशिक्षक तथा अनुभवी मेन्टरबाट प्रशिक्षण उपलब्ध गराउने योजना रहेको छ । एकेडेमीले अनुभवी प्रशिक्षक तथा खेलाडीको ज्ञान र अनुभवलाई नयाँ पुस्तासम्म पु¥याउने लक्ष्य राखेको छ । प्रशिक्षक तथा मेन्टरका रूपमा साजन गौतमसँगै शुक्लाफाँटाका क्रिकेट खेलका गौरवका रूपमा रहेका कैलाश ऐर र अशोक विष्टलगायतको अनुभवलाई उपयोग गरिने जनाइएको छ ।

एकेडेमीले क्रिकेट खेलाडी उत्पादनमा मात्र सीमित नभई खेलाडीको शारीरिक क्षमता, अनुशासन, मानसिक तयारी र खेलप्रतिको व्यावसायिक दृष्टिकोण विकासमा समेत जोड दिने जनाएको छ। स्थानीय स्तरमा प्रतिभा पहिचान गरी उनीहरूलाई क्रमशः उच्चस्तरीय प्रशिक्षण र प्रतिस्पर्धाको अवसर उपलब्ध गराउने योजना रहेको छ।एकेडेमीका अनुसार यसको मुख्य लक्ष्य केवल क्रिकेट सिकाउनु नभई “वास्तविक एथलेट जन्माउने र उनीहरूलाई संसारकै उच्च स्तरको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने बनाउने” रहेको छ ।एकेडेमीको सुरुवातलाई शुक्लाफाँटाको खेलकुद इतिहासमा नयाँ अध्यायका रूपमा लिइएको छ । स्थानीय प्रतिभालाई गाउँ तथा समुदायमै पहिचान गरी आवश्यक प्रशिक्षण र अवसर प्रदान गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थप खेलाडी उत्पादन गर्न सकिने विश्वास आयोजकको छ । एकेडेमीले सिक्न आउने प्रत्येक खेलाडीको सपना आफ्नो सपना भएको भन्दै उनीहरूको माया, साथ र सहयोगको अपेक्षा गरेको छ । एकेडेमीले शुक्लाफाँटालाई क्रिकेट प्रतिभाको उर्वरभूमिका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।











