महेन्द्रनगर: कञ्चनपुर जिल्ला खेलकुद समितिका नवनियुक्त पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम सोमबार सम्पन्न भएको छ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका जिल्ला खेलकुद समितिका अध्यक्षसहित पदाधिकारीहरू नियुक्त गरेपछि कञ्चनपुरमा नवनियुक्त पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा कञ्चनपुर जिल्ला खेलकुद समितिका नवनियुक्त पदाधिकारीहरूलाई जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले बताउनु भयो।

जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्यहरु काशिराम बोहरा, लिला सिंह कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्द लगायत विभिन्न खेलका प्रशिक्षक तथा खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै कञ्चनपुरको खेलकुद क्षेत्रको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा जिल्लामा खेलकुद गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको थियो।
नवनियुक्त पदाधिकारीहरूले जिल्लाको खेलकुद विकासका लागि सम्बन्धित निकाय, प्रशिक्षक, खेलाडी तथा खेलकुदकर्मीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कञ्चनपुरमा खेलकुदको पूर्वाधार विकास, प्रतिभावान खेलाडीको पहिचान तथा उत्पादन र विभिन्न खेल विधालाई प्राथमिकताका साथ अगाडि बढाउने अपेक्षा गरिएको छ।










