लालबहादुर बम, रजवार
बडीकेदार १, रिसेडी तल्लो बोगटान

डोटी बोगटानका मोहन्याल भनेका केदार(शिव) पुत्र कार्तिकेय हुन् । कुमाऊँ गढवालका केदारनाथको मन्दाकिनी नदीमा प्राप्त भएका देवता मोहन्याल(कार्तिकेय) को सम्बन्धमा रहेको किम्बदन्ती अनुसार केदारनाथका दुई पुत्र जन्मेका थिए । जेठा मोहन्याल र कान्छा गणेश । केदारनाथले आफ्ना जेष्ठपुत्रको जन्मकुण्डली जोशीमठका ज्योतिषलाई हेराउँदा बालक निकै बलवान, रुपवान, गुणवान भएको तर केदारनाथका मुलजन्मेको भन्ने ज्योतिषको सल्लाह अनुसार विधि प्रक्रिया अपनाई केदारनाथले तामाको ढोलमा कार्तिकेयलाई हालेर केदारनाथ नजिकै बग्ने मन्दाकिनी नदीमा बगाएको अवस्थामा अयोध्याका सूर्यवंशी राजाको सवारी केदारनाथ तीर्थ क्षेत्रमा थियो । राजाले मन्दाकिनीमा ढोल बग्दै गरेको देखेपछि गोडियालाई जाल हान भनेछन् । राजाको आदेश अनुसार गोडियाले जाल हान्यो । गोडियाको जालमा त्यो तामा ढोल लाग्यो । राजाले “ढोल भित्रको मेरो हो ” भने छन र गोडियाले ढोल मेरो भनेपछि ढोल भित्रको पँहेलो वर्णको धप धप बलिरहेको ज्योर्ति जस्तै देखिने सर्वशक्तिवान बालक राजाको भयो । ढोल गोडियाको भयो । गोडियाले त्यो ढोल बजायो । ब्राह्मणले पूजा गरे, राजाले आफ्नो कुलदेवताको रुपमा ती बालक(कार्तिकेय)लाई मान्दै आफ्नो कुलदेवताको नामबाट आफ्नो राज्य कार्तिकेयपुर स्थापना गरेका थिए । यसको धेरै वर्ष पछि १३÷१४औं शताब्दीमा डोटी क्षेत्रमा खापरेको आतंकले देवता र मानवलाई निकै पिडा भयो । स्थानीय कुनैपनि देवताले खापरे माथि विषय गर्न नसक्ने भएपछि युद्धको अभियानमा डोटी आएका कार्तिकेय (मोहन्याल) कुलदेवता भएका विष्णुको अंश पाल राजालाई साथै लगेर वडातडो देवता मोहन्याल ल्याउन मालथली हुँदै कुमाऊँ गढवालको कार्तिकेयपुर (कत्यूर) गयो । त्यहाँ केदारनाथको तीर्थ गरेर खापरेको आतंकले सिर्जना भएको आफ्ना दुःख पुकार गरेर दुःखबाट मुक्त गरिदिन वडातडो देवताले मोहन्याल देवतालाई निकै अनुरोध गरेपछि मोहन्याल मन्जुर भएर वैशाख शुक्ल मोहिनी एकादशीका दिन कुमाऊँ गढवालको कत्यूरबाट डोटी बोगटानमा आएका थिए । पुजारी भोजराज जोशी वर्ष ७८का अनुसार त्यो अवस्थामा हरिद्वारका पण्डित पनि साथै आएका थिए । उनलाई जग्गा दान गर्नु पर्ने थियो । राजाले मान्नाकापडी क्षेत्रमा पर्ने बल्लेजुंडीको जग्गा सन्कल्प बोलेका थिए । केही फटाहाहरुले राजाले आफ्नो गर्वुजा क्षेत्रको मिडौं पुल नजिकको भलायटुक्रिको जग्गा दान गरेका हुन भनेर देखाई दिएछन । राजाको पशुपालन गर्ने भलाटुक्रिको डाँडो देखेपछि पण्डित रिसाएर “तेरो वंश नास नहोस र धेरै नफैलियोस” भन्दै सराप दिएर फर्केर गए । यसै कारण राजाको वंश धेरै फैलिएको छैन । केही गाउँ(रिसेडी, निगाली, विठोडा)मा मात्र यी सिमित छन् । मोहन्याल आएपछि मोहन्यालले निरोली सुनैटाक कुमारीचौकमा कुमाऊँ अलमोडा, सोर पिथौडागढ, दार्चुलादेखि डोटी बोगटान सम्मका ५२ दल सूर्खेतको भैरौंवेताल सहित ५३ दलवलका वैदिक देवताको भेला गरेर सल्लाह गरी जिम्मेवारी र क्षेत्र छुट्याएर आपूm प्रधान सेनापति बनेर आफ्नो नेतृत्वमा खापरे दैत्यको डोटी क्षेत्रमा नास गरेका थिए ।
वास्तबमा मोहन्याल को हुन ? पहिचान के हो ?
श्री मोहन्याल देवता शाकाहारी देवता हुन । यी शिवगणका सेनापति तथा ३३ कोटी ५२ दलमा भैरौंवेताल देवता थपेर बनेका ५३ दलका राजा देवता हुन । यिनलाई कार्तिकेय, स्कन्द, अग्निपुत्र, कुमार, गंगापुत्र, सिंहासन जस्ता विविध नामले पनि चिन्ने गरिन्छ । यी देवताको पहिचान अन्य देवता भन्दा फरक हुन्छ । यिनका धामी, भँडारीहरु देवताको उपवास व्रत बसेका हुन्छन । देवताको काज्य सम्पन्न नहुन्जेल सम्म खाना खाँदैनन् ।
– मोहन्याल देवताको जात्रा(जाँत) कार्तिक शुक्ल दशमीको दिन हुन्छ । यसको भोलि पल्ट कार्तिक शुक्ल हरिबोधनी एकादशीको विहान सूर्य उदायसँगै त्यहाँ निर्माण भएको गादीको नजिकैको मोहन्यालको खम्बामा चढेर त्यस वर्षको भविष्यवाणी के गर्ने के नगर्ने भन्दै नाँच्दै बोल्दछन । यसै दिन यी वैदिक विधि विधान अनुसार दिउसो तोकिएको स्थानहरुमा पुजिन्छन् ।
– कार्तिक शुक्ल यम द्वितीया तथा भाइटीकाको साँझ पनि यिनको जात्रा हुन्छ । यसदिन मोहन्यालका मान्छेहरु बुढोभैलो खेल्दछन ।
– पूजामा हरिद्वार(गंगा)को जल प्रयोग हुन्छ । हरिद्वारलाई पद्मपुराणमा ः
हरिद्वारं महापुष्यं श्रृणु देवर्षि सत्तम ।
यत्र गंगा बहत्येव तत्रोक्तं तीर्थमुतमम ।। भनेको छ ।
अर्थात् हरिद्वार महापूण्यवाला तीर्थ हो । यहाँ महादेव,देवऋषि तथा साक्षात विष्णुको निवास छ । यो तीर्थ सर्वोत्तम तीर्थ हो । जसले सारापापलाई नष्ट गरी दिन्छ ।
– जात्राहुने दिन सर्वप्रथम मोहन्याल देवताको भँडारमा सत्यनारायणको पूजा लगाईन्छ । सत्यनारायणको पूजा समाप्त भएपछि प्रसाद ग्रहण गर्ने कार्य हुन्छ । यसपछि मोहन्याल सहित यी देवता अन्तर्गतका सबै धामीहरुको निश्चित तोकिएको स्थानमा धमेउल हुन्छ । जात्रा हुन्छ वयाँल चल्छ ।
– मोहन्याल देवता अन्य देवता जस्तो धेरै बोल्ने र जताभावि उफ्रने गर्दैनन् ।
– यी देवताको जात्रामा काटमार गर्न वा बलि गर्न पाईदैन ।
– श्री मोहन्याल देवतालाई यस गणका अन्य सबै देवताहरुले मेरो “साई” भनेर सम्बोधन गर्ने गर्दछन । साई भनेको मेरो राजा, मालिक भनिएको हो ।
– मोहन्यालको अगाडि कसैले नाँच्नु छ भने मोहन्यालको अनुमति बेगर नाँच्दैनन् ।
– समैजी, बैजनाथ, सिद्धनाथको भूगोल भनेर क्षेत्र विभाजन भएको भएतापनि देव कचहरी भयो भने समैजी सहितका देवताले पनि आफ्नो भूमिमा मोहन्यालको अगाडि नाँच्न सक्दैनन । मेरो “साई”बाट अनुमति पाउ भन्नु पर्ने हुन्छ । अनुमति लिएर मात्र नाँच्ने गर्दछन ।
– मोहन्याल जुनसुकै भूमिको देवकचहरीमा कसैसँग अनुमति नलिएर नाँच्नका लागि स्वतन्त्र हुन्छन ।
– कुनै देवताले केही बोल्नु र गर्नु छ भने मोहन्यालबाट मेरो साईले भन्यो भने भनेर अनुमति लिन्छन ।
– श्री मोहन्याल देवता अवतार भएको समयमा यी आफ्नो तोकिएको गादी भन्दा अन्यत्र भूँईमा खुट्टा टेक्दैनन ।
– यिनको सवारी चल्दा घोडेवेताल देवताले यिनलाई काँध लगाउछ । काँधमै बोक्ने गर्दछ ।
– काँधमा सवारगर्दा आफ्ना पाईतालाले घोडेवेतालको काँधमा टेकेर उभिएर सवार गर्दछन, काँधमा बस्दैनन् ।
– कुनैपनि ठाउँमा नाँच्दाखेरी घुँडा टेक्दैनन् । तोकिएको रातो गादीमा मात्र बस्ने गर्दछन । रातो गादीमा पनि घुँडा टेक्दैनन ।
– मोहन्यालको वयाँल चल्दा चाँदीको लठ्ठी, चम्मर, घाँट समातेर सेतो, पँहेलो र रातोरंङ्गको कपडाबाट बनेको आलिम (झण्डा) बाँधेको बाँसको लिङ्गाको आडमा घोडेवेतालको काँधमा टेकेर यस गणका देवता र नागरिकहरुको चाँभाइरे भन्ने स्वरमा बाजा गाजा भोक्करको गुन्जयमान भव्य र सभ्यजात्रामा सवार गर्दछन ।
– यी देवता आफ्नो गणका भैरौंवेताल, वीरवेताल, अलडो, अग्निवेताल, सिगारी वेताल, कैलपाल सहितक ५३ थरी देवताहरुलाई वखान काट्न जिम्मेवारी दिन्छन ।
– खपरे राक्षससँग युद्ध हुँदा ५२ दलको धनी श्री मोहन्याल ५२ दलको धनी वलवान खापरे भएको कारण खापरेलाई मार्न नसकिने भयो । यसपछि मोहन्यालले सूर्खेत गएर सूर्खेतबाट फकाई पूmलाई भैरौ वेताललाई ल्याई आफ्नो ५३ दल बनाएपछि खापरेलाई खेद्न र मार्न सकिएको हो । यही धितधरमले आपूmपछिको स्थान वा पहिलो जिम्मेवारी भैरौंवेताल देवतालाई दिने गर्दछन । यही धितधरमको कारण भैरौवेतालमा पनि मोहन्यालको हाँको(बोली) आउने गर्दछ ।
मोहन्यालका धामीको पहिरन भँडार घरमा रहेका मुर्तिहरु :
– वर्तमानमा : हातमा चाँदीका बाला, कानमा सुनका मुन्द्रा, जुँणी सुनले बाँधेको, धामी नाँच्दा टाउकामा पकडी , पिठ्यूमा रातो पँहेलो कपडाको पेटा(पोटेलो) लगाएको । देवताका झगुला पहिरेको, रातो गादीमा बस्ने आदि आदि हुन्छन ।
– देवताको अलाडी भँडारघरमा रहेका कार्तिकेय, बाघ, मयुर, घोडा, हाँत्ती, उँट, लक्ष्मी,विष्णु, दुर्गा सहितका मुर्तिहरुले पनि श्री मोहन्यालको युद्ध गण भव्य रहेको सपष्ट गर्दछ ।
– कार्तिकेयपुरमा : वडीकेदार १ का वार्ड सदस्य तथा सिगारी वेतालका धामी वर्ष ५६का ठक्कर बोहराका अनुसार कार्तिकेयपुर राज्य हूँदाका वखत मोहन्यालको बस्ने आशन सुनको चादर थियो । टाउकामा लगाउने सुनको श्रीपेच, सुनको जनै, सुनका बाला, सुनका मुन्द्रा, सुनको लठ्ठी, बडादशैको दशमीमा पैरने सुनका जमरा थिए । सालीधानको चामल खेलाउने सुनको थाली थियो । कार्तिकेयपुरको राज्यविध्वंस भएपछि यो सम्पति वि.स.१२८० मा जुम्लाको रैका राजा क्राचल्लले लुटेर लग्यो । वर्तमानमा मलमलको रातो गादीमा सुनका पूmला हालेर गादी बनाईएको छ । श्रीपेचको ठाउँमा सुनले धामीको जँुणी बाँध्ने गरिएको छ । चाँदीको लठ्ठीमा सुनका पूmला हालिएको छ । फोखल खेलाउने काँसाको थाल छ । लिलाचौरीहाँटको जस्तो गादी नभतापनि ढुङ्गाले चिनेर सामान्य गादी बनाईएको छ । यी मोहन्याल देवता डोटी बोगटानको वडातडो देवताको अनुरोधमा कार्तिकेयपुरबाट १४औं शताब्दी पूर्वको सेरोफेरोमा डोटी बोगटान आएका हुन । बोगटान आएपछि खापरे दैत्यलाई बोगटानबाट धपाउदै मार्दै लगेर सेती कटाएका थिए । अलडो, वेताल बाहेकका सबै देवता बोगटानका स्थानीय देवताहरु हुन । वडातडो देवताको जाँत(जात्रा)पनि मोहन्यालको तिथि र मितिमा हुने गर्दछ । स्थानीय अन्य देवताहरु वडातडो देवतालाई मालिक देउले सम्बोधन गर्ने गर्दछन ।
श्री मोहन्यालका धामी को ?
वडीकेदार १ का वार्ड सदस्य तथा स्थानीय वर्ष ६२का धनबहादुर बमका अनुासर कार्तिकेयपुरको राज्य विध्वंस हुनु भन्दा पहिले यी देवता राजामा अवतार हुने गर्दथे । कार्तिकेयपुर राज्यको विध्वंस भएपछिका दिनमा विविध समस्याहरु आउन थाले । रैती दुनियाबाट पनि
“नाँत्तेका चेला रामहेद्दा,
रामहेद्देका चेला नात्ता”
(अर्थ : राजा नाँच्ने रैती दुनिया रमिता हेर्ने) भन्ने कुरा हुन थालेपछि राजाले आफ्नो शौनक गोेत्र दिएर दरवारमै बस्ने, दरवारमै कार्तिकेयदेवताको भँडारमा दियोवत्ती बाल्ने भएका कारण दियाकोटी भनिएका बोहराहरुलाई मोहन्याल सौंप गरेको कारण बोहरा, ताडी, कठायत, धामी थरकाहरु वर्तमानमा श्री मोहन्यालका धामी र भँडारी छन । मोहन्यालको प्रमूख स्थानहरुमा पुजारी कौडिन्य गोत्रीय जोशी छन । मोहन्याल शाकाहारी ब्राह्मणबाट मात्र पुजिन्छन ।
कार्तिकेयपुर राजाका सन्ततिको पहिचान र मोहन्यालसँगको सम्बन्ध के ?
– कार्तिकेयपुर राजवंश शौनक गोत्रीय, सूर्यवंशी रघुकुल तथा रघुवंशी राजकुलका सन्तति हुन । कार्तिकेयपुर पछि यिनको प्रमुख स्थान तत्कालिन डोटीको अजयमेरुकोट, उँकु , निरोली, बोगटानको रिसेडी कोट हो । वर्तमानमा यी रिसेडी वरपर रिसेडी तल्लो गाउँ, निगाली र विठोडा गाउँमा फैलिएर बसेका छन । वास्वमा तत्कालीन डोटी रैका राज्यका प्रमाणित रजवार यिनै हुन । यी रैका अधिनस्थ राज्य बोगटानका रजौटा(राजा) हुन । बुढा पाका जानकारहरु यिनलाई ठाकुर भन्ने गर्दछन् ।
– कार्तिकेयपुर राजवंशका विवाहित माहारानीहरु मोहन्याल देवताको जाँत(जात्रा)मा मोहन्याल देवतासँग हाम्रो जेठी र बौरानीको जस्तो नाता पर्दछ भनेर छाउ मानेर जाँदैनन् ।
– मोहन्याल कुलदेवता भएका राजन्यको लागि मोहन्यालले सेतो गादी दिन्छन भने मोहन्यालको आफ्नो रातो गादी हुन्छ । राजन्यहरु राजन्यको रुपमा निश्चित स्थानमा गएर बस्ने गर्दछन र देवताबाट पाएको टीका र पूmलमाला ग्रहण गर्दछन ।
– मोहन्याल आफ्ना पुर्खाले पाएको बताउनेहरु मोहन्यालको तिथिमा घरपरिवारका सबै उपवास बस्ने, मोहन्यालको नाममा गेडा हाल्ने गर्दछन ।
– देवता पुजिएको दिन पुरुषहरुले दुध,घ्यू,धुप,बत्ती,आलीम नेजा धाजा पूmलमाला सहित देवता पुज्ने ठाउँमा जाने गर्दछन ।
– पुरुषहरु सकिन्छ भने जात्रामा वयाँल लैजाने, सकिदैन भने पुछ,पोखल सहित जात्रामा अनिवार्य सहभागी हुने गर्दछन् । नेपालमा कार्तिकेयदेवतालाई कुलदेवता बताउने र यी देवताको नाममा शंकल्प बोल्ने पनि यिनै कत्युर वंशजका राजाका सन्ततिहरु भेटिन्छन ।
श्री मोहन्याल देव स्थल त्यस क्षेत्रका अन्य देवीदेवताहरुको प्रचार– प्रसार उल्लेख्य रुपमा हुन सकेको छैन् । उल्लेख्य रुपमा प्रचार– प्रसार र थप खोज अनुसन्धान हुन सक्यो र अलाडी मोहन्याल देखि वडीकेदार सम्मको धार्मिक करिडोर निर्माण गर्न सकियो भने यसले पर्यटन क्षेत्रको विकासमा ठूलो भूमिका खेल्न सक्ने स्पष्ट छ । स्थानीय, प्रदेश र संघिय राज्य निकायबाट यसमा ध्यान पुगोस भन्ने जन ईच्छा रहेको कुरा इतिहासका अध्ययन कर्ता लालबहादुर बम रजवार बताउनुहुन्छ ।

- लालबहादुर बम, रजवार
बडीकेदार १, रिसेडी तल्लो बोगटान










