महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामा साईन रेसुङ्गा बैंक महेन्द्रनगर शाखाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट एक सय २८ जनाले सेवा लिएका छन्। भीमदत्त नगरपालिकाको दुर्गम क्षेत्र मानिने खल्ला, मसेट्टी र टुडीखेलका स्थानीयलाई लक्षित गरी शनिबार खल्लास्थित सामुदायिक विद्यालयमा शिविर सञ्चालन गरिएको हो। बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गेटा आँखा अस्पताल, महेन्द्रनगर आँखा अस्पताल तथा नेपाल नेत्र ज्योति संघको प्राविधिक सहयोगमा शिविर आयोजना गरेको हो। लामो समयदेखि आँखा जाँच गराउन नपाएका स्थानीयले गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि खुसी व्यक्त गरेका छन्।

आर्थिक अभाव र भौगोलिक कठिनाइका कारण महेन्द्रनगर वा धनगढी पुगेर आँखा उपचार गर्न नसकेका नागरिकलाई शिविरले राहत दिएको छ। शिविरमा खल्लाका प्रेम दमाईले पनि आँखा परीक्षण गराए। सिलाई कटाईको काम गर्दै आएका दमाईलाई आँखा कमजोर हुँदा सियोमा धागो हाल्नसमेत समस्या हुने गरेको थियो। “गाउँमै आँखा जाँच गर्न पाएँ। औषधि र चस्मा पनि पाएँ, निकै खुसी लागेको छ,” उनले भने। स्थानीय अमर सिंह खड्का र विष्णु सिंह खत्रीले पनि गाउँमै निःशुल्क रूपमा आँखा परीक्षण, औषधि र चस्मा पाएकोमा खुसी व्यक्त गरे। साईन रेसुङ्गा बैंक महेन्द्रनगर शाखाका शाखा प्रबन्धक बासुदेव पन्तले दुर्गम क्षेत्रका विपन्न नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए। खल्ला–मसेट्टी क्षेत्र भौगोलिक रूपमा दुर्गम भएकाले स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै अस्पतालसँग समन्वय गरेर शिविर आयोजना गरिएको उनले बताए।

“सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले आँखा शिविर आयोजना गरिएको हो,” पन्तले भने। महेन्द्रनगर आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत वीर सिंह धामीका अनुसार शिविरमा सेवा लिनेमध्ये ८८ जना महिला रहेका छन्। शिविरमा ६१ जनालाई चस्मा वितरण गरिएको छ भने ११ जनामा मोतियाबिन्दुको समस्या देखिएकाले थप उपचार तथा शल्यक्रियाका लागि महेन्द्रनगर आँखा अस्पताल बोलाइएको छ। अन्य सेवाग्राहीलाई आँखा परीक्षण गरी आवश्यक औषधि वितरण गरिएको धामीले बताए। उनले दुर्गम क्षेत्रमा आयोजना गरिएको शिविर प्रभावकारी रहेको उल्लेख गरे। शिविरमा बैंकका प्रमोटर शेयरधनी तथा समाजसेवी लिलाध्वज बस्नेत, बैंकका कर्मचारी, नेपाल नेत्र ज्योति संघका पदाधिकारी टेकराज भारती, दयाकृष्ण जोशी तथा आँखा अस्पतालका चिकित्सकहरूको सहभागिता रहेको थियो। शिविरको उद्घाटन भीमदत्त नगरपालिका कार्यपालिका सदस्य अञ्जली बोहराको अध्यक्षतामा गरिएको थियो। उनले लामो समयपछि खल्ला क्षेत्रमा आँखा शिविर आयोजना हुँदा स्थानीयलाई उपचारमा सहजता पुगेको बताइन्।











