कञ्चनपुर : सामाजिक विकास कार्यालय कञ्चनपुरको आयोजनामा मंगलबार लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अतिथि दुर्गादत्त बोहरा, सहजकर्ता मेनुका बस्नेत बिष्ट, विभिन्न संघ,संस्थाका प्रतिनिधि तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। अभिमुखीकरण कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको अधिकार, उनीहरूले भोग्दै आएका सामाजिक तथा कानुनी चुनौतीहरू, साथै सम्मानजनक र विभेदरहित जीवन सुनिश्चित गर्न आवश्यक पहलका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रमकी सहजकर्ता मेनुका बस्नेत बिष्टले समाजमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले अझै पनि सम्मानपूर्ण जीवनयापनका लागि विभिन्न चुनौतीहरूको सामना गरिरहेको बताइन्।

उनले समुदायप्रति सकारात्मक दृष्टिकोण विकास गर्दै समानता, सम्मान र समावेशितालाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याइन्। त्यसैगरी, सहयात्रा समाजका चाल्र्स सिजापतीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान, उनीहरूका विविध स्वरूप तथा समुदायको संरक्षण र अधिकार सुनिश्चितताका लागि लागू भएका कानुनी व्यवस्था तथा नीतिगत प्रबन्धबारे जानकारी गराएका थिए। कार्यक्रममा सहभागी समुदायका सदस्यहरूले दैनिक जीवनमा भोग्नुपरेका विभेद, अपमान तथा विभिन्न सामाजिक चुनौतीका अनुभवहरू साझा गरेका थिए । सहभागीमध्ये एक सदस्य मनिसा बिकले आफ्नो लैङ्गिक पहिचानकै कारण घर तथा कोठा भाडामा लिन कठिनाइ हुने, साथै पहिचानअनुसारको नागरिकता प्राप्त गर्न समेत समस्या झेल्नुपरेको अवस्था अझै कायम रहेको बताए। उनले समाजबाट सहज स्वीकार्यता प्राप्त गर्न नसकेको गुनासो समेत गरे।

सहभागीहरूले कानुनी रूपमा अधिकार सुनिश्चित गरिए पनि व्यवहारिक रूपमा समान अवसर, सम्मान र सामाजिक स्वीकृति प्राप्त गर्न अझै चुनौती रहेको उल्लेख गरे। उनीहरूले घर, परिवार तथा समाजबाटै अपमानजनक व्यवहार सहनुपरेको अनुभव सुनाउँदै समुदायप्रति सकारात्मक सोच र व्यवहार विकास गर्न सरोकारवाला निकाय तथा समाजको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई सम्मानजनक, सुरक्षित वातावरण प्रदान गर्न आवश्यक रहेको बताएका थिए।







