कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित श्री शैल्य शिखर मालिकार्जुन सेवा समितिले आफ्नो संस्थाका लागि जग्गा दान गर्ने पाल परिवारका सदस्यहरूलाई सम्मान गरेको छ । मंगलबार भीमदत्त नगरपालिका–३ मा आयोजित कार्यक्रममा समितिले १३० वर्ग मिटर जग्गा दान गर्ने पाल परिवारका पाँच सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । कार्यक्रमलाई सञ्चालन गर्दै सचिव आनन्द सिंह धामीले जमिन दान गर्ने परिवार संगै संस्थाको विकासको लागि अहोरात्र खटिएका सम्पूर्ण पदाधिकारी, सदस्य लगायत शुभचिन्तकहरुलाई समेत धन्यवाद दिदै आगामी दिनमा पनि साथ सहयोग निरन्तर राख्न अनुरोध गरेका थिए ।

समितिका अनुसार स्वर्गीय पार्वती देवी पालले २०८० साल कार्तिक ८ गते सम्पन्न समितिको साधारणसभामा संस्थाका लागि जग्गा दान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यसपछि २०८० माघ १७ गते उहाँको निधन भए पनि उहाँका छोरा–बुहारीहरू मान बहादुर पाल, ऐन बहादुर पाल, दान बहादुर पाल, गीता देवी पाल र गणेश बहादुर पालले आमाको इच्छा र वचनलाई सम्मान गर्दै यही असार ८ गते समितिको नाममा उक्त जग्गा हस्तान्तरण गरेका हुन् । यस अघि पनि पाल परिवारकै कर्णबहादुर पालले सेवा समितिलाई २३० वर्ग मिटर जग्गा दान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै समितिका अध्यक्ष गौर सिंह धामीले निर्माणाधीन नयाँ भवन उद्घाटनका अवसरमा संस्थालाई जग्गा दान गर्ने तथा विभिन्न रूपमा आर्थिक र भौतिक सहयोग पु¥याउने व्यक्ति तथा परिवारहरूलाई विशेष सम्मान पत्र सहित सम्मान गरिने जानकारी दिए । उनले समाजसेवा र धार्मिक–सांस्कृतिक गतिविधिमा सहयोग गर्ने दाताहरूको योगदान संस्थाका लागि प्रेरणादायी रहेको बताए ।







