दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुर र मर्सी कोप्र्स नेपालको साँझेदारीमा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील (सीआरसी) परियोजना अन्तर्गत कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर –३ स्थित जमुना आधारभूत विद्यालयलाई तातो हावाको लहरबाट विद्यार्थीलाई जोगाउने उद्देश्य सहित आवश्यक सामग्री सहयोग गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले जानकारी दिनुभएको छ । गर्मीयाममा अत्यधिक तातो हावाको लहरको कारण अध्ययन–अध्यापनमा पर्ने प्रभाव कम गरी विद्यार्थीहरुलाई सहज वातावरणमा शिक्षा प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले विद्यालयलाई वाटर कुलर, वाटर फिल्टर तथा वाटर स्टोरेज ट्याङ्की प्रदान गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभयो ।


सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले जलवायु परिवर्तनका कारण गर्मीको प्रभाव बढ्दै गएकाले विद्यालयस्तरमै अनुकूलनका उपाय अपनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले सुरक्षित पिउने पानी र चिसो वातावरणले विद्यार्थीको स्वास्थ्य र सिकाईमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले परियोजनाले विद्यालयमा शिक्षामैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै यस्ता जलवायु अनुकूल कार्यक्रमलाई नगरपालिकाले निरन्तर संस्थाहरु संग सहकार्य गर्दै अघि बढाउने बताउनुभएको छ् ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर बालबालिका र शिक्षा क्षेत्रमा देखिन थालेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि विद्यालय केन्द्रित कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राखिएको बताउनुभयो । सीआरसी परियोजना अन्तर्गत विद्यालयका टिनका छानामा सेतो रङ्ग लगाईनुका साथै विद्यालय परिसरमा विभिन्न प्रकारका बोटबिरुवा रोपण गरिएको छ् । यसले गर्मीको समयमा तापक्रम घटाउन र शितलता प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ् ।

उक्त कार्यक्रमले तातो हावाको जोखिम न्यूनीकरण गर्दै विद्यार्थीहरुको स्वास्थ्य संरक्षण, नियमित पठनपाठन तथा शिक्षा सेवाको गुणस्तर सुधारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ् ।






