कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–११ मा आयोजित गौरा पर्व तथा तीज विशेष कार्यक्रमले सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा जोड दिएको छ। वडा कार्यालयले अायाेजाना गरेकाे कार्यक्रममा अध्यक्ष शेरबहादुर साउदले देउडा र तीजजस्ता सांस्कृतिक पर्वले पुस्तौँदेखि चलिआएको परम्परा जोगाउनुका साथै समुदायबीचको सम्बन्ध र सामाजिक एकता बलियो बनाउने बताउनुभएको छ।

गीता देवी ऐरको सभापतित्वमा आयोजित कार्यक्रममा अध्यक्ष साउदले आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति ओझेलमा पर्न सक्ने भएकाले नयाँ पुस्तालाई आफ्नो कला, संस्कार र परम्परासँग जोड्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीयस्तरमा हुने सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

तीज महिलाको सामाजिक तथा सांस्कृतिक अभिव्यक्तिसँग जोडिएको पर्वका रूपमा लिइन्छ। तीजका गीत, नृत्य र सामूहिक भेटघाटले महिलाबीचको आत्मीयता, दुःख–सुख साटासाट तथा सामाजिक सम्बन्ध विस्तारमा भूमिका खेल्दै आएको छ। त्यस्तै सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिको पहिचान बोकेको देउडाले गीत, प्रश्न–उत्तर, नृत्य र सामूहिक प्रस्तुतिमार्फत स्थानीय जीवन, भोगाइ र सामाजिक विषयलाई अभिव्यक्त गर्ने गर्दछ।

कार्यक्रममा कार्यपालिका सदस्य शान्ति ऐर, वडा सदस्य कमला कामी, जैसिंह राना, पूर्व वडा सदस्य जयबहादुर विष्ट, शिवराज भट्टलगायतको उपस्थिति थियो। श्रीकृष्ण सामुदायिक वनका अध्यक्ष अमरबहादुर ऐर, बसन्त सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रनसिंह सुनार तथा अमरपुर–कलुवापुर खानेपानीका कोषाध्यक्ष टेक भण्डारीलगायत पनि सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा प्रहरी, समाजसेवी, देउडा गायक तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रम दुई दिन सम्म सञ्चालन हुने छ । देउडा र तीजजस्ता मौलिक सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन सके नयाँ पुस्तामा आफ्नो संस्कृति र पहिचानप्रतिको अपनत्व बढ्ने स्थानीयको भनाइ छ।










