कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकाका युवा नेता नवराज ऐर बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत तथा पुनःस्थापनाको काममा सक्रिय भएका छन् । नेपाली कम्युनिस्ट पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)का केन्द्रीय उपाध्यक्षसमेत रहेका ऐर रसुवा, धादिङ र नुवाकोटका प्रभावित क्षेत्रमा पुगेर बाढीपीडितको उद्धार तथा राहतमा खटिएका हुन् । ऐरको नेतृत्वमा वाईसीएलले बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माणको कामसमेत अघि बढाएको छ । पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ अन्तर्गत ठुलोखोला, लामोस्वती, रातमाटे र महादेवफाँटका प्रभावित परिवारका लागि १५० वटा अस्थायी आवास निर्माण गर्ने तयारी गरिएको ऐरले जानकारी दिए । “उद्धार तथा राहत कार्यसँगै हामीले बाढीपीडितका लागि अस्थायी आवास निर्माण सुरु गरेका छौँ,” ऐरले भने, “विपद्बाट प्रभावित परिवारलाई तत्काल सुरक्षित आवासको व्यवस्था गर्न हाम्रो प्राथमिकता छ ।”

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खटिएका ऐरले उद्धार र राहतसँगै प्रभावित नागरिकको पुनःस्थापनाका लागि आवश्यक सहयोग जुटाउने काम भइरहेको बताए । विपद्को समयमा राजनीतिक आस्था र क्षेत्रभन्दा माथि उठेर प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ । शुक्लाफाँटाका बेपत्ताको खोजीमा चासो यसैबीच, बाढीपहिरोका कारण शुक्लाफाँटा नगरपालिका र कञ्चनपुर क्षेत्रका केही नागरिकसमेत प्रभावित तथा बेपत्ता रहेको खबरपछि स्थानीयवासीले युवा नेता ऐरबाट प्रभावित परिवारका सदस्यको खोजी तथा अवस्थाबारे जानकारी प्राप्त हुने अपेक्षा गरेका छन् । शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचनसमेत लडेका ऐरले आफू प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा खटिए पनि आफ्नो पालिका र जिल्लाका बाढीमा बेपत्ता नागरिकको अवस्थाबारे जानकारी संकलन तथा खोजीका लागि समेत पहल गरिरहेको बताए ।

“म अहिले प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिएको छु । तर, आफ्नो पालिका र जिल्लाका नागरिकको अवस्था पनि हाम्रो प्राथमिकतामा छ,” ऐरले भने, “बाढीमा बेपत्ता भएका नागरिकको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ ।” शुक्लाफाँटा क्षेत्रका नागरिकसमेत विपद्बाट प्रभावित भएका बेला ऐर बाढी प्रभावित अन्य जिल्लामा पुगेर पुनःस्थापनाको काममा खटिएपछि स्थानीयस्तरमा उनको भूमिकालाई चासोका साथ हेरिएको छ । वाईसीएलले तत्कालीन उद्धार तथा राहतसँगै प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने र पुनःस्थापनाको काममा निरन्तर सहयोग गर्ने जनाएको छ ।











