कञ्चनपुर — नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं. २ को १५औँ क्षेत्रीय अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रमसमेत सम्पन्न भएको छ। अधिवेशनबाट क्षेत्रीय सभापतिमा सर्वसम्मत रूपमा चयन भएका करन सिंह ऐरसहित क्षेत्रीय, प्रदेश सभा क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको हो।
शपथग्रहण सँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आ–आफ्नो जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ। अधिवेशनबाट ऐरको नेतृत्वमा २३ सदस्यीय क्षेत्रीय कार्यसमिति गठन गरिएको छ। क्षेत्रीय सचिवमा तोयराज पन्त र सुरेश रावल तथा सहसचिवमा नैन सिंह मडै र रमेश भट्ट चयन भएका छन्। त्यसैगरी, क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा ‘क’ को सभापतिमा हरि सिंह गैरा र प्रदेश सभा ‘ख’ को सभापतिमा थानेश्वर भट्ट चयन भएका छन्।
दुवै प्रदेश सभा क्षेत्रमा २८–२८ सदस्यीय कार्यसमिति गठन गरिएको छ। अधिवेशनले समावेशिताका आधारमा ३५ जना महाधिवेशन प्रतिनिधिसमेत चयन गरेको छ। प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रमले अधिवेशनबाट चयन भएका पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूलाई औपचारिक रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रक्रियालाई अघि बढाएको छ।










