कञ्चनपुर — नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं. २ को १५औँ क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा करन सिंह ऐर सर्वसम्मत रूपमा चयन भएका छन्। अधिवेशनले क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति गठन गर्नुका साथै समावेशिताका आधारमा ३५ जना महाधिवेशन प्रतिनिधिसमेत चयन गरेको छ।

अधिवेशनबाट क्षेत्रीय सचिवमा तोयराज पन्त र सुरेश रावल तथा सहसचिवमा नैन सिंह मडै र रमेश भट्ट चयन भएका छन्। अधिवेशनले २३ सदस्यीय क्षेत्रीय कार्यसमिति गठन गरेको हो।

त्यसैगरी, क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा ‘क’ को सभापतिमा हरि सिंह गैराल र प्रदेश सभा ‘ख’ को सभापतिमा थानेश्वर भट्ट चयन भएका छन्। दुवै प्रदेश सभा क्षेत्रमा २८–२८ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

अधिवेशनले पार्टीको संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित समावेशिताका आधारमा ३५ जना महाधिवेशन प्रतिनिधि चयन गरेको जनाएको छ।










