कञ्चन मावि शीर्ष स्थानमा: राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा जारी


हेमा भट्ट/कञ्चनपुर – कृष्णपुर नगरपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता–२०८२ जोरदार र उत्साहपूर्ण वातावरणमा जारी छ। प्रतियोगिता कृष्णपुर–७, शान्तिपुरस्थित श्री कञ्चन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको छ र विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिस्पर्धात्मक खेल भावना देखाएका छन्।

प्रतियोगितामा श्री कञ्चन माध्यमिक विद्यालय, कृष्णपुर–७, शान्तिपुरले ६ स्वर्ण, ९ रजत र ६ कास्य पदकसहित २१ पदक हात पार्दै तालिकाको शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा श्री जे.वि. एकेडेमी, कृष्णपुर–२, वाणी (५ स्वर्ण, ४ रजत, १६ कास्य), तेस्रो स्थानमा श्री कञ्चनजङ्घा इङ्ग्लिश मिडियम मावि, कृष्णपुर–५ (५ स्वर्ण, ३ रजत, ३ कास्य) छन् भने चौथो स्थान श्री राष्ट्रिय मावि, कृष्णपुर–७, कलुवापुर (४ स्वर्ण, २ रजत, २ कास्य) ले सुरक्षित गरेको छ।

प्रतियोगितामा २८ विद्यालयका विद्यार्थी सहभागी छन्। केही विद्यालयले पदक जित्न सकेनन्, तर उनीहरूको अनुशासन, उत्साह र खेलभावनाले प्रशंसनीय उपस्थितिको परिचय दिएको छ। आयोजकले विद्यार्थीमा खेलकुदप्रति आकर्षण र स्वस्थ प्रतिस्पर्धात्मक संस्कृतिको विकासमा यसको योगदान महत्वपूर्ण रहेको बताएका छन्। प्रतियोगिता अवधिभर नगर प्रमुख हेमराज ओझा, वडा अध्यक्षहरू घुम्न राना, दिनेश खड्का, कैलाश बलायर, र सूचना अधिकारी प्रेम बोगटीले स्थलगत अनुगमन गरेका थिए। टोलीले सुरक्षा, स्वास्थ्य, भोजन व्यवस्थासहित सम्पूर्ण खेल व्यवस्थापनको निरीक्षण गरेको थियो।

आयोजक कर्मराज चौधरीका अनुसार, प्रतियोगिताले स्थानीय स्तरका प्रतिभाशाली खेलाडीको पहिचान गर्ने, विद्यार्थीमा खेलकुदप्रति आकर्षण बढाउने र अनुशासित, प्रतिस्पर्धात्मक खेल संस्कृतिको विकासमा भूमिका खेलेको छ। उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक, स्वयंसेवक, प्रशिक्षक, निर्णायक र स्थानीय समुदायको सक्रिय सहयोगले प्रतियोगिता भव्य, सभ्य र सौहार्दपूर्ण वातावरणमा भइरहेको बताए। प्रतियोगिताको समापन समारोह भोलि, पौष ७ गते दिउँसो ३ बजे आयोजना हुने आयोजकले जनाएका छन्। कार्यक्रममा ओलम्पिक खेलाडी दीपक बिष्ट विशिष्ट अतिथिका रूपमा उपस्थित हुनेछन्। समापन समारोह अघि, छात्र–छात्रातर्फको ३००० मिटर दौड बिहान ७:३० बजे गजरौला क्षेत्रबाट सुरु हुनेछ।

प्रतियोगितामा सहभागि विद्यालयहरूमा श्री नन्द मावि, श्री पञ्चाधीन मावि, श्री विणा मावि, श्री रोजी एक्सक्लुसिभ मावि, श्री रिज एकेडेमी, श्री सरस्वती मावि (वाणी र कल्याणपुर), श्री समेजी मावि, श्री सनलाइट पब्लिक स्कुल, श्री महाकाली मावि लगायत रहेका छन्। आयोजक समितिले आगामी वर्षहरूमा पनि यस्ता खेलकुद गतिविधिलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img