स्वर्गीय बुवा आमाको सम्झनामा पिपल चौतारा निर्माण


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका दुई जना दाजुभाईले गाउँको चौराहमा आफनै नीजि लगानीमा स्वर्गीय बुवा आमाको सम्झनामा पिपलको चौतारा निर्माण गरिदिएका छन ।स्वर्गीय बुवा आमाको सम्झनामा जय बहादुर ऐर र अमर बहादुर ऐर दुवै दाजुभाईले आफ्नै पहल र लगानीमा गाउँको चौराहमा पिपलको चौतारा निर्माण गरी सामाजिक सेवा र संस्कृतिको संरक्षणमा एउटा सुन्दर उदाहरण प्रस्तुत गरेका छन् ।

दुवै दाजुभाइले करिब रु ९३ हजार बढीको लागतमा चौतारा निर्माण गरेका हुन् । उहाँका बुवा आमाले वर्षौंअघि गाउँको चौराहमा यात्रु र बटुवालाई छहारी प्रदान होस् भनेर पिपलको बिरुवा रोपेका थिए । पिपल बोटबाट रुखमा परिणत भएपछि अहिले त्यसै पिपलको ओतमा दुवै दाजुभाईले चौतारा निर्माण गरी बुवा आमाको जीवन मूल्य र शिक्षालाई मूर्तरूप दिएका छन् । “हाम्रो बुबा आमाले यात्रुहरूलाई विश्राम मिलोस् भनेर यो पिपलको बोट रोप्नुभएको थियो,” जयबहादुर ऐरले भन्नुभयो, “बुवा आमाको इच्छा पुरा गर्ने हेतुले चौतारा निर्माण गरेका हौं ।”

गाउँको बीच चौराहमा बनेको यो चौताराले अहिले गाउँबासीलगायत बाटो भएर हिँड्ने बटुवालाई विश्राम लिने सहज ठाउँ प्रदान गरेको छ । चुरे क्षेत्रका बस्ती, नौखरी, बेलडाँडी, पारिफाँटा र धारापानीतर्फ ओहोरदोहोर गर्ने मानिसहरूका लागि यो चौतारा विश्राम गर्ने ठाउका रुपमा परिणत भएको छ । पिपलको छहारीमा हावा चल्ने भएकाले चौतारामा दिनभर गाउँका मानिसहरू जमघट हुने गरेका छन । गाउँका वृद्धहरू साँझपख त्यहीँ बसेर एक आपसमा भलाकुसारी गरी सुख दुख साटासाट गर्ने गर्दछन । युवाले पिपल चौतारमा बसेर सामाजिक विषयमा छलफल गर्छन् । बालबालिकाले खेल्ने अवसर पाउँछन् । चौतारा निर्माणले गाउँमा सामुदायिक एकता र सामाजिक सद्भाव झल्काएको छ ।

स्थानीय अमरबहादुर साउद भन्नुहुन्छ, “ऐर दाजुभाइले गाउँको चोकमा चौतारा निर्माण गरेर सामाजिक गुन लगाएका छन्, आजकल यस्ता परोपकारी कार्यमा आफ्नै लगानी गर्ने मानिस थोरै मात्रै भेटिन्छन् ।” समयको परिवर्तनसँगै पाटी–पौवा र चौतारी निर्माण गर्ने परम्परा हराउँदै गइरहेको बेला ऐर दाजुभाइको यो पहलले पुरानो संस्कृतिको पुनर्जीवन दिएको स्थानिय बासिन्दा बताउनु हुन्छ । गाउँका बासिन्दाले पनि चौतारा निर्माणलाई अत्यन्त सराहना गरेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img