राजेन्द्रप्रसाद पनेरु / कञ्चनर : तनावग्रस्त जीवनशैलीमा योग एक मात्रै शान्तीको स्रोतका रुपमा रहेको छ । दैनिकको भागदौड, तनावपूर्ण जीवनशैली र चिन्तालाई हटाउने एक मात्रै उपायकाका रुपमा योग रहेको छ । प्रतिस्पर्धात्मक र डिजिटल जीवनशैलीले मानिसलाई शारीरिकभन्दा बढी मानसिक तनावमा पारेको बेला योगले मानसिक शान्ति र भावनात्मक सन्तुलन कायम गर्ने पतंजली योग समिति शुक्लाफाँटाले ११ औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रमका अतिथिहरुले बताउनु भएको छ ।

“तनावग्रस्त जीवनशैलीलाई सन्तुलनमा ल्याउने सबभन्दा सरल, सुरक्षित र दिगो उपाय योग मात्रै हो” योग प्रशिक्षक इश्वरी भट्टले भन्नुभयो,“योगले शरीर, मस्तिष्क र आत्मालाई एउटै लयमा बाँध्छ, जसले बाह्य जीवनलाई मात्रै होइन, आन्तरिक अस्तित्वलाई पनि समृद्ध बनाउँछ ।” योग भनेको मात्र शारीरिक व्यायाम मात्रै नभएर यो स्वास्थ्य जीवन जिउने उत्तम शैलीका रुपमा रहेको उहाँ बताउनु हुन्छ । प्राचीन हिन्दु परम्परामा ज्ञान र अभ्यासमाथि आधारित योगले श्वासप्रश्वास, मस्तिष्क, स्नायु र आत्मालाई नियन्त्रणमा राखी सन्तुलनमा ल्याउने अद्भुत क्षमता राख्ने केशव दत्त अबस्थीले बताउनु भयो । उहाँका अनुसार योगले उच्च रक्तचाप, मधुमेह, मुटुरोग, श्वासप्रश्वास समस्या, मानसिक तनाव, अनिद्रा, मोटोपन जस्ता दीर्घरोगमा उल्लेखनीय सुधार ल्याउने गर्दछ ।

“नियमित योग अभ्यासले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ” उहाँले भन्नुभयो, “मस्तिष्कलाई शान्त बनाउँछ, र जीवनमा सकारात्मक सोचको विकास गर्छ ।” योगलाई घर घरमा पुरयाएर स्वास्थ्य समाज निर्माणमा योगदान दिनु पर्ने उहाँको भनाई रहेको छ । “योगमा गरिने प्राणायाम र ध्यान अभ्यासले मस्तिष्कमा शान्ति ल्याउँछ” पतंजली योग समिति शुक्लाफाँटका महासचिव जय बहादुर ऐरले भन्नुभयो, “तनाव पैदा गर्ने हार्मोनको स्तर घटाउँछ, जसले मानसिक रुपमा हल्कापन अनुभव गराउँछ । योग अभ्यासले मानिसलाई आफ्नो भावना, व्यवहार र प्रतिक्रिया नियन्त्रण गर्न सघाउँछ । तनावपूर्ण अवस्थामा पनि धैर्य, सहनशीलता र सकारात्मक सोच कायम राख्न सहयोग पु¥याउँछ ।”

तनावका कारण अनिन्द्रा हुने समस्या हटाउन योग धेरै उपयोगी हुने भएकाले साँझको ध्यान तथा सुत्नु अघिको हल्का आसन अभ्यासले निन्द्राको गुणस्तर सुधार गर्ने उहाँको भनाई रहेको छ । योग रोग निवारणमा महत्वपूर्ण योगदान पुरयाउने चर्चा गर्नु हुदै उहाँले गहिरो र सन्तुलित श्वासले रक्तचाप, मुटुको चाल नियन्त्रणमा ल्याउने भएकाले तनाव व्यवस्थापनमा महत्वपूर्ण योगदान पुरयाउने बताउनु भयो । तनावका कारण हुने माइग्रेन, उच्च रक्तचाप, पाचन गडबडी, छाला रोग लगायतको रोकथाम र नियन्त्रणमा योग प्रभावकारी हुने उहाँको अनुभव रहेको छ । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमख रण बहादुर महरा योगलाई विद्यालय शिक्षा संगै वडा वडामा प्रशिक्षकको व्यवस्था गरी योग कक्षा सञ्चालन गर्न प्रतिवद्ध रहेको बताउनु हुन्छ ।
योग मानसिक स्वास्थ्यलाई सन्तुलन बनाउन र रोग लाग्न नदिने अचुक अस्त्रका रुपमा रहेको उल्लेख गर्नु हुदै उहाँले नगरपालिकाले यसका लागि आवश्यक बजेटको व्यवस्था गरी योग साधाना गर्नका लागि भौतिक पूर्वाधार निर्माणका लागि कार्य अगाडी बढाउन तत्पर रहेको बताउनु भयो । नगर उप प्रमुख कल्पना पन्तले रोग लाग्न नदिनुनै बुद्धिमानी भएको कुरा अघि सार्दै त्यसको प्राकृतिक उपाय योग रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले नियमित योगले रोग नलाग्ने शरीर बनाउने भएकाले यो औषधिको विकल्प नभएर रोग प्रतिरोधात्मक ढालका रुपमा रहेको बताउनु भयो । “पहिला जाडो, रुघाखोकी, तनाव, अनिन्द्राजस्ता समस्या भोग्थ्यौं” योग प्रशिक्षक धनेश्वरी भट्टले भन्नुभयो, “अहिले नियमित योगले ती समस्या आफै हराएका छन ।” नगरपालिकामा आयोजित कार्यक्रममा योग प्रशिक्षकहरुले योग साधना, आसन, प्राणायाम, ध्यान, ओंकार ध्वनि, सूर्य नमस्कार लगायत सहभागीहरुलाई सामुहिक रुपमा योगअभ्यास गराएका छन ।






