कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–११, अमरपुरस्थित सरस्वती माध्यमिक विद्यालयमा शुक्रबार नमूना निर्वाचन कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्यासबारे व्यावहारिक ज्ञान दिनको लागि आयोजना गरिएको कार्यक्रममा वास्तविक निर्वाचनझैँ वातावरण निर्माण गरिएको थियो। मतदान केन्द्र, मतदान स्थल, र महिला–पुरुषका लागि छुट्टाछुट्टै मतदान व्यवस्था गरिनुका साथै निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक कर्मचारी जस्ता भूमिकामा शिक्षकहरू खटाइएका थिए।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई शुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, सञ्चारकर्मीका भूमिकामा सहभागी गराइएको थियो। मतदानमार्फत विद्यार्थीहरूले जुनियर रेडक्रस सर्कल, बाल क्लब र इको क्लबका पदाधिकारी चयन गरेका थिए। निर्वाचनका लागि कूल ६ वटा प्यानल बनाइएका थिए, जसले तीन पदका लागि प्रतिस्पर्धा गरेका थिए। उम्मेदवारहरूले कक्षा कोठामा गई घोषणापत्र प्रस्तुत गर्दै मत मागेका थिए।
अपाङ्गता भएका,जेष्ठ नागरिक, किरियापुत्री तथा गर्भवतीको भूमिकामा रहेका विद्यार्थीलाई लक्षित गरी विशेष मतदान व्यवस्था गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक भरत बहादुर तिरुवाले नमूना निर्वाचनको उद्देश्य पाठ्यक्रममा समावेश निर्वाचनसम्बन्धी पाठलाई व्यवहारिक रुपमा सिकाउनु रहेको बताए। “निर्वाचन प्रक्रिया र नागरिकको मताधिकार प्रयोगबारे विद्यार्थीलाई व्यावहारिक अनुभूति दिन नमूना निर्वाचन आयोजना गरिएको हो,” उहाँले भन्नुभयो, “यसले विद्यार्थीको नेतृत्व विकासमा समेत टेवा पुग्नेछ।” कक्षा ४ देखि १० सम्मका तीन सय विद्यार्थी सहभागी रहेको नमूना निर्वाचनमा सहभागी गौरव तमौलीले आफूले निर्वाचन कसरी हुने हो भन्ने कुरा प्रत्यक्ष रूपमा बुझ्न पाएको अनुभव सुनाए। “मतदान अघि शिक्षकहरूले प्रक्रिया सिकाउनुभएको थियो,” उनले भने, “त्यहीअनुसार मैले मन परेका उम्मेदवारलाई मतदान गरेँ।”







