बाढी पूर्वतयारीको नमूना अभ्यास: विपद् व्यवस्थापनमा समुदाय सक्रियता बढ्दो

राजेन्द्रप्रसाद पनेरु /कञ्चनपुर ः कृष्णपुर नगरपालिका–२ अठन्नीफाँटामा सामुदायिक विपद् व्यवस्थापनमा उदाहरणीय पहल देखिएको छ । बाढीमा आधारित कृतिम घटना नमूना अभ्यास कार्यक्रमले विपद् व्यवस्थापनमा समुदायको भूमिका, चेतना र तयारीलाई बलियो आधार दिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र अन्तर्राष्ट्रिय संस्था मर्सिकोरको साझेदारीमा सञ्चालित जलवायु उत्थानशील समुदाय कार्यक्रम अन्तर्गत आज वनहरा नदीमा आयोजना गरिएको कृतिम घटना नमूना अभ्यासमा विपद् आउनुअघि, विपद्को बेला र पछि अपनाइने कार्यहरुलाई व्यवहारिक अभ्यास मार्फत प्रर्दशन गरिएको छ ।

कार्यक्रममा विशेष रूपमा पूर्व सूचना कार्यदल, उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदलले आ–आफ्नो जिम्मेवारी अनुसार नमूना अभ्यास गरेर देखाएका थिए । विपद्को अवस्था आउँदा समुदायले कसरी समन्वय गरेर सुरक्षित ढंगले प्रतिकार गर्न सक्छ भन्ने कुरा नमूना अभ्यासका क्रममा देखाएको जलवायु उत्थानशील समुदाय कार्यक्रमका संयोजक महेश घिमिरले बताउनु भयो ।

“पूर्व सूचना कार्यदलको मुख्य काम बाढी वा अन्य विपद् आउनुअघि समयमै सूचनाको संकलन, विश्लेषण र जानकारी प्रवाह गर्नु हो” उहाँले भन्नुभयो,“बाढीको जोखिम देखिएपछि कार्यदलले तत्काल समुदायमा सूचना फैलाउने, सरोकारवाला निकायलाई खबर गर्ने, र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम गर्छ ।” सामुदायिक सूचना केन्द्र, मोबाइल सन्देश, घर–घर सूचना, साइरन बजाएर र सार्वजनिक स्थानहरूमा माइकिङजस्ता माध्यममार्फत सावधानीका सन्देशहरू प्रवाह गर्नमा समुदाय सचेत रहेको उहाँले बताउनु भयो ।

“जब विपद् घट्न थाल्छ, तत्काल उद्धार कार्यदल सक्रिय हुन्छ” सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष सत्यराज कठायतले भन्नुभयो, “अभ्यासमा उद्धार टोलीले जोखिममा परेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्ने, बच्चा, वृद्ध, अपाङ्गता भएका व्यक्तिको प्राथमिकताका आधारमा उद्धार गर्छ भन्ने कुरा अभ्यास मार्फत देखाईएको छ, त्यो व्यवहारमा उतार्छौ ।” उहाँका अनुसार विपद्का बेला सामान्य घाइतेदेखि गम्भीर अवस्था सम्मकालाई तत्काल उपचार आवश्यक पर्ने गर्दछ । प्राथमिक उपचार कार्यदलले सुरक्षित स्थानमा उपचार केन्द्र स्थापना गरेर घाइतेको प्राथमिक उपचार गर्ने, रक्तस्राव रोक्ने, सामान्य औषधोपचार गर्ने जस्ता काम नमूना अभ्यासमा प्रदर्शन गरिएको छ ।

नगरपालिकाका विपद् सम्पर्क व्यक्ति प्रेम बोगटीले सूचना प्रवाह, उद्धार र उपचारबीच राम्रो समन्वय भयो भने, विपद्को असर न्यून पार्न सकिने बताउनु भयो । विगतमा बाढीजन्य विपदका घटनामा परेर भौतिक संगै मानविय क्षति निकै हुने गरेको उल्लेख गर्नु हुदै उहाँले हाल बाढीजन्य विपद्बारे जल तथा मौसम विज्ञान विभागले जारी गर्ने बुलेटिन,अलर्टले निकै सहज बनाएको बताउनु भयो । स्थानिय समुदाय बाढीजन्य प्रकोप आउन पुर्वनै तयारीमा जुटने भएकाले मानविय क्षति न्यून हुदै गएको उहाँले बताउनु भयो । नदी क्षेत्रका बगरमा बृक्षारोपण संगै घाँस रोपेर भू क्षय हुने क्रमलाई रोक्न सकिने भएकाले त्यस तर्फ समुदायको ध्याना जानु पर्ने बताउनु भयो ।

“जलवायु उत्थानशील समुदाय कार्यक्रम” अन्तर्गत आयोजना गरिएको यस कार्यक्रमको प्रमुख उद्देश्य स्थानीय तहमा बाढी, डुबानजस्ता प्राकृतिक विपद्का खतरालाई न्यून गर्ने र जनधनको सुरक्षा सुनिश्चित गर्नु रहेको छ । विपद न्यूनिकरणका लागि कार्यक्रम अन्र्तगत दोधारा चाँदनी नगरपालिका १० कुतियाकभर, शान्तिटोल, पटरा खल्ला, कृष्णपुर नगरपालिका २ अठन्नीफाँटा, नयाँ बस्ती, खल्लागोठ लगायतका क्षेत्रका बाढी प्रभावित समुदायमा मानविय क्षति न्यूनिकरण गर्नका लागि कृतिम घटना नमूना अभ्यास कार्यक्रम सञ्चालन गरिएका छन ।

ताजा समाचार