तेक्वान्दोमा एरिष्टोकी दीपा जैशीको ह्याट्रिक : सुदूरपश्चिमलाई दिलाइन लगातार तिन पटक श्वर्ण

धनगढी : एरिष्टो इङ्लिस हाई स्कुलकी छात्रा दीपा जैशीले लगातार तिन पटक स्वर्ण पदक जितेर ह्याट्रिक गरेकी छन् । १५ औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै महिला ४४ केजी तौल समूहको तेक्वान्दो प्रतियोगितामा उनले लगातार तेस्रो पटक स्वर्णपदक प्राप्त गरेकी छन् ।

उनले १३ औँ देखि १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा शिल्डसम्म लगातार तिन पटक प्रथम स्थान प्राप्त गरी ह्याट्रिक गर्न समेत सफल भएकी छन् । सोही खेलकुद प्रतियोगितामा एरिष्टोकै योगेश चौधरीले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै वुशु खेलमा नान् छवान पुरुष समूहमा दोस्रो स्थान हात पारी रजत पदक हाँसिल गर्न सफल भएका छन् ।

त्यसैगरी एरिष्टो स्कुलकै अर्की छात्रा रचना बोहराले काठमाडौँमा सम्पन्न यू १४ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ मा ८०० मि. दौडमा काँस्य पदक प्राप्त गर्न सफल भएकी छन् । यसरी एउटै स्कुलमा अध्ययन गरिरहेका दुई छात्रा र एक छात्रले सुदूरपश्चिम प्रदेशका लागि एक श्वर्ण सहित तिन पदक ल्याउनमा योगदान गरेकोमा खुसी लागेको विद्यालयका शिक्षक तेज राज कापडीले बताउनुभयो ।

विद्यालयकी प्रिन्सिपल शान्ति अधिकारीले तिनै जना खेलाडीले सुदूरपश्चिमको खेलकुदलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको छ । प्रिन्सिपल अधिकारीले आउँदा दिनमा पनि सुदूरपश्चिमको खेलकुद तथा खेलप्रेमी विद्यार्थीहरुका लागि विद्यालयका तर्फबाट अझ उत्कृष्ट वातावरण बनाउनमा विद्यालय लागि परेको समेत बताउनुभयो ।

ताजा समाचार