महेन्द्रनगर : डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नंम्बर ९ नाउला गाउँमा खानेपानीको समस्या भएको छ । नगरपालिकाको सुगम वडा पर्ने वडा नंम्बर ९ कञ्चनपुर जिल्लासंग सिमाना जोडिएको वडा हो । जहाँका स्थानीय खानेपानी समस्याबाट आजित छन् । यो गाउँमा बर्षको तिन महिनाजति खानेपानीको चरम समस्या हुदै आएको स्थानीय सुनिता बोहराले जानकारी दिनुभयो । झण्डै ३० परिवारको बसोवास रहेको यो गाउँ कच्चि सडक सञ्जालमा जोडिएको झण्डै ३० बर्षभन्दा बढि भएता पनि यो गाउँमा विद्युतको पनि समस्या रहेको स्थानीय सुनिताले बताउनुभयो । गाउँमा पानीको मुहान एक दुई ठाउँमा रहेको तर चैत महिना लागेसंगै पानीको मुहान सुक्दै जाने गरेकाले बर्षमा तिन महिनादेखि चार महिनासम्म गाउँमा पानीको निकै नै हाहाकार हुने गरेको उहाँले बताउनुभयो । कुनै सालमा त फागुन महिनादेखि नै पानीको हाहाकार हुने गरेको उहाको भनाई छ ।

पानीको मुहानमा गाउलेहरुको श्रमदान र वडा सरकारको थोरै बजेटले निर्माण गरीएको पानी टंकिमा घण्टौ लाइृन कुर्नुपर्ने बाध्यता रहेको उहाँको दुखेसो छ । ‘मुहान नजिक वडा सरकार र गाउँलेहरुले नै श्रमदानबाट बनाईएको टंकि छ त्यो टंकि विहान ५ बजे खुलेर ७ बजे बन्द हुन्छ,’ स्थानीय सुनिताले भन्नुभयो ‘दुई घण्टा जति मात्रै पानी पुग्छ, एक जनाको भागमा २० लिटर सम्ममात्र भर्न पाईन्छ, त्यहि पानी दिनभरी पिउनको लागि पु¥याउनुपर्छ, के गर्नु बाध्यता छ ।’ चार महिनाको समयमा पानी मुहानमा निर्मित पानी टंकीमा चौकिदार राख्ने गरीएको उहाले बताउनुभयो । ‘पानीको चरम समस्या हुने महिना चैत महिनादेखि जेठ महिनासम्म पानी खोल्ने बन्द गर्ने चौकीदारको व्यवस्था गरेकाछौ,’ सुनिताले भन्नुभयो ‘हामीले चौकिदारको प्रति महिना एक सय रुपया तिर्नुपर्छ र गेटभल्व मर्मत लगायतका खर्च ५ सय प्रति परिवार तिर्ने गरेका छौ ।’ गाउँ कच्चि सडक संञ्जालले जोडिएको भएका कारण भाडा माझ्न र नुहान तथा अन्य प्रयोजनका लागि सेला खोलाबाट ड्रममा भरेर जिपमार्फत ल्याउने गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी नाउँला गाउँकै धन बहादुर ठगुन्नाले पनि खाने पानीको चरम अभाव खेप्दै आएको बताउनुभयो । दश जनाको परिवार भएका उहाँले आफुहरु पानीको अभाव भएपछि दुई किलोमिटर ओरालो गएर ओखलढुङ्गा गाउँबाट पानी बोकेर ल्याउने गरेको बाध्यता सुनाउनुहुन्छ । ‘हामीहरु गाउँमा पानी अभाव भएपछि झण्डै दुई किलोमिटर ओरालोमा पर्ने तल्लो गाउँ ओखलढुङ्गाबाट पानी बोकेर ल्याउछौ,’ धन बहादुरले भन्नुभयो ‘कोहीले जिपमा हालेर ल्याउछन भने कोहीले बोकेर पानी ल्याउने गर्छन, जिपमा ल्याउनेहरुले डेढदुई सय रुपया तिरेर एकदुई ग्यालिन ल्याउने गर्छन, एक ग्यालिन २० लिटरको हुन्छ ।’ पानीको मुहानमा पुर्व वडाध्यक्ष रमेश बोहराको पालमा साढे तिन लाखको खानेपानी ट्याङ्कि बनाईदिएता तिन चैतदेखि जेठ महिनामा पानीको मुहान सुक्दै जाने भएका कारण गाउँमा पानीको समस्या भएको ठगुन्नाले बताउनुभयो ।

ठुलो योजनाको लागि प्रदेश सरकारसंग माग गरेता पनि खासै चासो नदिएको उहाँको गनासो छ । ‘हामीले प्रदेश सरकारसंग पनि लिप्ट सिस्टमको माग गरौ तर कसैले पनि हाम्रो समस्या सुनेन्,’ स्थानीय ठगुन्नाले भन्नुभयो ‘गाउँमा पानीको समस्या समाधानका लागि ठूलो बजेटको आवश्यकता छ तर नेताहरुले प्रतिबद्धता जनाउछन बजेट कहिल्यै हाल्दैन् ।’
नाउला गाउँ दैजी जोगबुडा सडक खण्डमा पर्ने भएका कारण उक्त गाउँमा सोही वडाका देवेन्द्र खत्रीले होटल व्यवसाय गर्दै आएका छन् । होटलका लागि दैनिक चारहजार लिटर जति आवश्यक पर्ने पानी जिपबाटै ढुवानी गरेर ल्याउने गरेको होटल व्यवसायी खत्रीले बताउनुभयो । ‘मेरो होटलमा दैनिक चारहजार लिटर जति पानी आवश्यक पर्छ,’ उहाले भन्नुभयो ‘होटलमा आवश्यक पर्ने पानी पाच किलोमिटर तलको गाउँ विरल्थलाको पानीमुहानबाट जिपमा भाडा तिरेर ल्याउनेगरेकोछु ।’
नाउला गाउँमा पानीको समस्या मुल नभएर भएको र भौगोलिक अवस्थाले लिफ्ट सिस्टमबाट पानी तान्नुपर्ने तर त्यसका लागि विद्युतको आवश्यकता पर्ने भएकाले गाउँमा विद्युत विस्तार गरीरहेको परशुराम नगरपालिका वडा नंम्बर ९का वडाध्यक्ष देवबहादुर बोहराले बताउनुभयो । ‘यहाँ खासमा मुहानको समस्या छ, मुहानबाट पानी तान्नको लागि विद्युत चाहिन्छ, त्यसको लागि विद्युत पोल हाल्ने काम गरीरहेका छौ, त्यसपछि बल्ल मोटर लगाएर पानी तान्नुपर्ने हो,’ वडा अध्यक्ष बोहराले भन्नुभयो ‘सिस्नाडी गाउँमा रहेको वा लिपनातल रहेको मुहानबाट मोटर प्रयोग गरी तान्नुपर्ने त्यसका लागि पालिका वा प्रदेश सरकारबाट बजेट ल्याउन पहल गर्दैछु ।’ त्यसैगरी कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं। ३ लिपना गाउँका बासिन्दा पनि खानेपानीको चरम अभाव झेल्दै आएका छन् ।
यहाँ १० देखि १५ घरपरिवारको बसोवास छ । तर त्यहाको समस्या पनि नत स्थानिय सरकारले समाधान गर्न नै सक्छ नत प्रदेश सरकारको ध्यान जान सकेको छ । यो गाउँमा पनि खानेपानी लगायत विद्युत बत्तिको समस्या रहेको छ । कञ्चनपुर र डडेल्धुराको यी दुई गाउँ सुगम पालिका भित्र पर्ने दुर्गम गाउँ बन्न पुगेका छन् । यी दुई गाउ सडक संञ्जालमा जोडिएका भएता पनि यहाँका अगुवा जनप्रतिनिधिको लापर्वाहिका कारण दुर्गम बन्न पुगेका छन् । यी दुई गाउँमा विकासका पूर्वाधार निर्माण गर्न सके आन्तरीक पर्यटकिय क्षेत्र बन्ने सम्भावना बोकेका गाउँ हुन् । यी दुई गाउँ डडेल्धुराको धार्मिक पर्यटकिय क्षेत्र परशुराम धाम र कञ्चनपुर जिल्लाको निकै नै लोकप्रिय धार्मिक पर्यटकिय क्षेत्र बेदकोट तालको विचमा पर्ने गर्छ जहाँ गर्मियाममा कञ्चनपुरबासिलाई गर्मिछल्न नजिकैको गन्तव्य रहने सम्भावना छ ।






