राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ४ का नेपाली रानालाई खाल्डा खुल्डी भएको सडकमा हिडनु परेको छैन । वर्षातका बेला हिलाम्मे र अरु बेला धुलो हुने सडकमा निकै हैरानी पनि खेप्नु परेको छैन । गाउँका सडक सुधार हुन थालेपछि सहज रुपमा बजार सम्म पुग्न सकिने भएको उहाँ बताउनु हुन्छ । “गाउँमा उत्पादन भएका कृषिउपज बजार सम्म लगेर बेच्न सडकै कारण हैरानी खेप्नु पर्दथ्यो” उहाँले भन्नुभयो, “अहिले सहजै ढुवानीका साधनमा कृषिउपज राखेर बेच्न थालेका छौं, वर्षातका बेला विरामीलाई अस्पताल पुरयाउन पनि निकै हम्मे हम्मे हुथ्यो, अहिले कमै समयमा पुग्न थालेका छौं ।”


सडक सुधार भएपछि सयमको बचत संगै दुर्घटनाको विगतको जस्तो भय पनि नरहेको उहाँ बताउनु हुन्छ । वडाका असैना, सिगलपट्टि, ढाणाँ, खल्ला क्षेत्रमा सडक कालोपत्रेको कार्य भैरहेको छ । “विगतमा सडक सुधारका लागि अश्वासन मात्रै पाउथ्यौं, सडक सुधार हुदैनथे, निकै हैरानी हुथ्यो” स्थानिय अमर भण्डारीले भन्नुभयो, अहिले वडामा विसकाले गति लिएकोमा सन्तुष्ट छौं ।” सडक मात्रै नभएर सिचाईका लागि किसानले बोरिङ पाएको, नदीले जग्गा कटान गरी उठिवास लगाउने अबस्थामा पुरयाएकोमा भरपर्दो तटबन्ध निर्माणले जग्गा कटानीको कार्य रोकिएको उहाँ बताउनु हुन्छ । वडा अध्यक्ष कमल ठकुल्लाका अनुसार चालु आबमा मात्रै रु सात करोड ७८ लाखका योजना सञ्चालनमा रहेका छन । वडामा सडक पूर्वाधार, तटबन्ध, सिचाई, कार्यालय भवन, मठमन्दिर,घरवास लगायतका योजना सञ्चालनमा रहेका छन । नगर अस्पताल निर्माणको क्रममा रहेको छ ।


सडक पूर्वाधारका रु चार करोड ९५ लाखका पाँच वटा योजना सञ्चालनमा रहेका छन । जस अन्र्तगत तीन दशमलव ४३ किलोमिटर सडक कालोपत्रेको कार्य भैरहेको वडा अध्यक्ष ठकुल्लाले बताउनु भयो । उहाँका अनुसार रु १० लाखमा मन्दिरका भौतिक संरचना निर्माण, रु २० लाखका खानेपानी आयोजना, रु ४० लाखमा वडाको प्रशासकिय भवन निर्माणका बाँकी काम पुरा गर्न बजेट विनियोजभै कार्य अगाडी बढेको छ । यसैगरी, सनवोरा नदीले जग्गा कटानी गरि रहेको क्षेत्रमा रु ११ लाखमा तटबन्ध निर्माणको कार्य भैरहेको छ । संघीय सशर्त योजना अन्तरगत नगरपालिका संगको साझेदारीमा वडाकै पुरानो राष्ट्रि माध्यमिक विद्यालय पिपलाडीमा रु ५५ लाखको लागतमा दुई कोठे भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।


चालु आबमा कालोपत्रे हुन नसकेका सडकमा वडाबासीलाई आवतजावतमा सहजताका लागि ग्राभेल राखेर सहज बनाईएको वडा अध्यक्ष ठकुल्ला बताउनु हुन्छ । एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा नगरपालिकाको मुख्य बजार झलारी संगै जोडिएको सडक कालोपत्रेकालागि ठेक्का प्रकृया अगाडी बढेको वडा अध्यक्ष ठुल्लाको भनाई रहेको छ । राना थारु समुदायको सहनसहन, संस्कृति र मौलिक परिकार जोगाउने कार्य संगै आर्थिक अबस्थामा सुधार ल्याउनका लागि घरवास कार्यक्रम सञ्चालनका लागि रु १५ लाख बजेट परिचालनको क्रममा रहेको छ । “वडाका अधिकांस सडक चालु आब भित्रै कालोपत्रे र स्तरोन्नतीको कार्य गरि सक्ने लक्ष्य लिएका छा”ैं वडा अध्यक्ष ठकुल्लाले भन्नुभयो, “बाँकी सडक कालोपत्रेका लागि प्रदेश र संघीय सरकार समक्ष माग गरेका छौं ।”

“वडामा थोरै बजेट विनियोजन हुदा विकास निर्माणका कार्यलाई जनआकांक्षा अनुरुप अगाडी बढाउन सक्ने अबस्था थिएन” उहाँ भन्नु हुन्छ, “प्रदेश र संघीय सरकारले वडालाई प्राथमिकतामा राखेर योजना सञ्चालन गर्दा विकास निर्माणका कार्य अगाडी बढेका छन ।” वडाका दलित बस्तीमा विद्युतीकरणको समस्यालाई निराकरण गर्न विद्युतीय लाईन विस्तारको कार्य संगै ट्रान्सफर्मर राख्ने कार्यले दुई सय बढी परिवारको घर उज्यालो भएको उहाँले बताउनु भयो । वर्षौ देखि सिचाईको बोरिङ मर्मत नहुदा पानी चुहिएर स्थानिय किसानको खेत सीमसारमा परिणत भएका थिए । सिचाई बोरिङ मर्मत गरी भल्व राख्ने कार्य गरिएपछि किसानको सीमसारयुक्त खेतमा अहिले खेती हुन थालेको छ ।






