कञ्चनपुर : भीमदत्तनगरपालिका – १५ नं वडा कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘गरौ रक्तदान हुन्छ जीवनदान’ भन्ने मुल नाराका साथ रक्तदान एवं रगत परीक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

१८ औं गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय महेन्द्रनगर र लाईफ केयर प्याथोलोजीको सहयोग रहेको थियो ।
रक्तदान जिवनदान भएको हुनाले हामी सबैले रक्तदान जस्तो पुन्यकार्य गर्नुपर्ने वडाअध्यक्ष भुवन भट्टले बताए । उनले भने ‘ रगतको अभावले हजारौ मानिसहरुले अकालमा ज्यान गुमाउनु परेको छ,, त्यसैले तिन तिन महिनामा बन्ने रगत उमेर पुगेका र रक्तदान गर्न मिल्ने सबैले रक्तदान गरी मानिसहरुलाई अकालमा ज्यान गुमाउनु बाट रोक्न सकिने छ ।’

समाजसेवी तथा वडा नं. १५ का वडा सदस्य हरीप्रसाद भट्टले अहिले सम्म २५ औं पटक रक्तदान गरेको बताए । उनले भने ‘ हाम्रो सानो प्रयास बाट कसैको ज्यू ज्यान बच्छ भने हामीले रक्तदान किन नगर्ने, त्यसले आफुलगायत घरका सबै सदस्यले प्रत्येक तिन तिन महिनामा रक्तदान गर्दै आएका छौ ।’ गणतन्त्र दिवसको अवसरमा गरिएको रक्तदान एवं रगत परीक्षण कार्यक्रममा २३ पिन्ट रगत र ३५ जनाले रगत परीक्षण गराएका छन् ।







