सुदूरपश्चिममा पहिलो पटक ‘प्रदेश स्तरीय मनसुन फोरम–२०८२’ सम्पन्न

दोधारा । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय मनसुन फोरम सम्पन्न भएको छ। जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरिया र मर्सिकोर नेपालको सहकार्यमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक “प्रदेश स्तरीय मनसुन फोरम–२०८२” धनगढीमा सम्पन्न भएको हो। कार्यक्रममा यस वर्ष सुदूरपश्चिम प्रदेशको मनसुन परिदृश्य, ऋतुगत पूर्वानुमान, सम्भावित जोखिमहरूको आँकलन र जोखिम न्यूनीकरणको लागि सरकारी निकाय एवम् सरोकारवालाहरूको जिम्मेवारी र भूमिकाका विषयमा गहन छलफल गरिएको छ।
कार्यक्रमको अध्यक्षता जल तथा मौसम विज्ञान विभागको कोहलपुर क्षेत्रीय कार्यालयका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीले गर्नुभएको थियो भने, प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की उपस्थित रहनुभएको थियो।
फोरमलाई सम्बोधन गर्दै कानुन मन्त्री हिरा सार्कीले प्रदेशमा १६ स्थानमा स्वचालित नदी सतह मापन गर्ने गेज स्टेशनहरू जडान भइसकेको जानकारी दिनुभयो। उहाँले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रहरूलाई प्रभावकारी बनाउन आवश्यक सामग्रीहरू उपलब्ध गराउँदै आएको र विपद् सम्पर्क व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्न मन्त्रालयले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो।
यस वर्ष मनसुन औसतभन्दा अगाडी प्रवेश गर्ने र वर्षा पनि औसतभन्दा बढी हुने सम्भावना रहेकाले मनसुनजन्य घटना बढ्न सक्ने र हानिनोक्सानी समेत बढ्न सक्ने सम्भावना भएकोले सबैले पूर्वतयारीमा जुट्नुपर्ने आवश्यकता रहेको मौसम विज्ञ डा. धर्मराज उप्रेतीले बताउनु भएको थियो।
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता एवम् वरिष्ठ मौसम विज्ञ विभूति पोखरेलले यहि जेष्ठ ७ गते जारि गरिएको नेपालको समग्र ऋतुगत आँकलनको आधारमा यो वर्षको मनसुनसम्बन्धी सुदूरपश्चिम प्रदेशको अवस्थाको बारेमा सहजीकरण गर्दै सुदूरपश्चिममा मौसम पूर्वानुमान प्रणालीलाई अझ सुदृढ बनाउने पहलका बारेमा जानकारी दिनुभएको थियो।
यसैक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति दिपेन्द्र विष्टले सुदूरपश्चिमको समग्र जोखिमको परिदृश्य, नीतिगत संरचना र हाल सञ्चालनमा रहेका पूर्वतयारीका गतिविधिहरूको प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्ण राज जोशीले मनसुनको समयममा समग्र कृषि क्षेत्रमा पर्ने असर तथा त्यसको न्यूनीकरणको तयारी बारे प्रस्तुति दिनुभएको थियो भने, प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रबाट डा. हेमराज जोशीले समग्र स्वास्थ्य क्षेत्रमा पर्ने असर र न्यूनीकरणका उपायबारे प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा विभिन्न विषयगत मन्त्रालय तथा संघसंस्थाका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रको तयारी र समन्वयका प्रयासहरू प्रस्तुत गरेका थिए।
खुला छलफल सत्रमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बाढी तथा पहिरोको जोखिम उच्च रहेकोले सम्बन्धित निकायहरूबीच तालमेल र सहकार्य अत्यावश्यक रहेकोमा जोड दिनुभयो।
त्यसैगरी नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले नीति तथा योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, समुदाय र आपतकालीन कार्य सञ्चालन केन्द्रहरूलाई परिचालन गर्नु आवश्यक रहेको धारणा राख्नुभयो।
जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख ई. संजय कुमार साहले कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यालयको तर्फबाट प्रस्तुति दिनुहुँदै विगतमा घटेका घटनाहरूको सन्दर्भ जोड्दै आगामी दिनमा पूर्वतयारी सुदृढ गर्न स्थानीय निकायअन्तर्गत रहेका आपतकालीन कार्य सञ्चालन केन्द्रहरूलाई अझ बलियो बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रममा महाकाली बेसिन फिल्ड कार्यालयका सिंगल चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो।
फोरमले सुदूरपश्चिम प्रदेशमा मौसम पूर्वानुमान र जोखिम मूल्याङ्कनलाई आधार बनाएर रणनीतिक पूर्वतयारी र नीति निर्माणमा सघाउ पुऱ्याउने स्पष्ट दिशा तय गरेको छ। यसले सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै, विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी कार्यान्वयनको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

ताजा समाचार