११५ औं अन्तर्राष्ट्रिय महिला दिवस भेदभावपूर्ण व्यवहारलाई पूर्ण रुपमा हटाउन महिलाहरुले अग्रसर हुनु पर्नेमा जोड

झलारी : सदियौं देखि चल्दै आएको महिला माथिको भेदभावपूर्ण व्यवहारलाई पूर्ण रुपमा हटाउनका लागि महिलाहरुले अग्रसर भएर लाग्नु पर्नेमा जोड दिईएको छ ।
शुक्लाफाँटा नगरपालिकामा आज ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित लैङ्गिक हिंसामुक्त नमूना नगरपालिका निर्माणमा सरोकारवालाहरुको भूमिका बिषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा मन्तव्य राख्नु हुदै नगर प्रमुख रण बहादुर महराले देशमा ठुल ठुला राजनीतिक र सामाजिक परिवर्तनमा महिलाको अहं भूमिका रहेको बताउनु भयो । संंविधानमा महिला सम्बन्धी हकको व्यवस्था सम्बन्धी चर्चा गर्नु हुदै उहाँले प्रत्येक महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हकको व्यवस्था गरिएको बताउनु भयो । “देशमा भएको राजनीतिक परिवर्तन पश्चात बनेको संविधान बमोजिम महिलाहरु राज्यको नीति निर्माण गर्ने तह सम्म पुग्न सफल भएका छन” उहाँले भन्नुभयो, “दुई दुई पटक महिला राष्ट्रिपति भैसक्नु भएको छ, न्यायिक निकायमा महिलाको पहुँच अभिबृद्धि भएको छ ।”
महिला माथि हुने विभेदजन्य घटनाहरु पूर्ण रुपमा हटन नसकेपनि पहिलेको तुलनामा निकै कमी आएको उहाँको भनाई थियो ।

महिलालेनै घर परिवार देखि समाजलाई संस्कारी र व्यवस्थीत बनाउने कार्य गर्दै आएको चर्चा गर्नु हुदै उहाँले महिला माथि हुने हिंसाजन्य घटना सैह्य नहुने बताउनु भयो । नगरपालिकाबाट महिलालाई शिक्षा, रोजगार, स्वास्थ्य लगायतमा पहिलो प्राथमिकतमा राखेर कार्य गर्दै आएको बताउनु भयो ।
संविधानतः महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा प्रचलन वा अन्य कुनै आधारमा शारिरिक, मानसिक हिसाजन्य कार्य गर्न नपाइने नगर उप प्रमुख कल्पना पन्तले बताउनु भयो ।

महिलालाई शिक्षा, रोजगारी र सामाजिक सुरक्षाको हक संविधानमा ग्यारेण्टी गरिएको चर्चा गर्नु हुदै उहाँले समावेशी समानुपातिक सिद्धान्तका आधारमा राज्यका हरेक क्षेत्रमा महिलालाई सहभागी हुने अधिकार रहेको बताउनु भयो ।
लामो संघर्ष पश्चात प्राप्त संवैधानिक हक अधिकार कार्यान्वयनमा ल्याउनका लागि अझै महिलाहरुले अग्रसर भएर लाग्नु पर्ने उहाँले बताउनु भयो ।.महिला माथि हुने विभेदजन्य घटना संगै हिंसाका सम्बन्धीका घटना नगरपालिकाको न्यायिक निकायमा आएमा महिलालाई न्याय हुने गरी विवादको छिनोफानो गरिदै आएको उहाँले बताउनु भयो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले समतामूलक दिगो राष्ट्रिय विकासका लागि पुरुष सरह महिलाहरूको सक्रिय र अर्थपूर्ण सहभागिताको खाँचो रहेको बताउनु भयो । वडा अध्यक्ष शेर बहादुर साउदले पितृसतात्मक सोचमा आधारित समाजका कारण अझै पनि महिलाहरु माथि हिंसा हुने गरेको बताउनु भयो । महिलाहरुको समाजिक, आर्थिक, राजनीतिक अबस्थामा सुधार हुदै गएकाले चेतनाको स्तरमा बृद्धि हुदा हिंसाजन्य घटना घटदै गएको उहाँले बताउनु भयो । सम्पतीमा महिला पुरुषको बरावरीको हक भएकाले भेदभावपूर्ण व्यबहार,लैङ्गिक विभेद, शोषण र हिंसाका घटना कम हुदै गएको उहाँको भनाई थियो ।

अर्का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यतालाई संस्थागत गरी लैंगिक समानता सुनिश्चित गर्न सके मात्रै महिलाले अधिकार पाएको प्रत्याभूत गर्न सक्ने बताउनु भयो । कार्यपालिका सदस्य भूमा चन्दले महिलाको हक अधिकारका कुराहरु कार्यपालिकाको बैठकमा उठाउदै आएको बताउनु भयो । वडा अध्यक्ष बहादुर सिंह महराले महिलाको अधिकारका लागि सधैं अग्रमोर्चामा रहेर कार्य गर्दै आएको बताउनु भयो । वडा सदस्य अञ्जना चौधरीले महिलाले के गर्न सक्छन भन्ने मान्यता पुरानो भैसकेको बताउनु भयो । अबसर पाईए महिलाले पुरुष सरह कार्य गर्दै आएको बताउनु भयो ।
शिक्षिका हेमा भट्टले महिला हरेक क्षेत्रमा कार्य गर्न सक्षम रहेकाले अबसरको खाँचो रहेको बताउनु भयो । अर्का शिक्षिका राजमती ऐरले समाजलाई नैतिकवान बनाउनका लागि विद्यालय शिक्षामा नैतिक शिक्षाको आवश्यकता रहेको बताउनु भयो ।

अन्तक्र्रिया कार्यक्रममा सहभागी अन्य महिलाहरुले जुवातास र मदिराका कारण महिला माथि अधिक रुपमा हिंसाका घटना हुदै आएकाले त्यसको न्यूनिकरणका लागि नगरपालिकाका जनप्रतिनिधिहरुले चासो राख्नु पर्ने बताउनु भयो । दिवसका अवसरमा मुडाका मेलामा निःशुल्क पेयजल वितरणको कार्य गरिएको थियो भने मेलामा हुने आकस्मीक दुर्घटना लगायतका कार्यमा घाईते वा विरामीलाई बोक्नका लागि निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गरिएको थियो । सो कार्यको नगर उप प्रमुख कल्पना पन्त लगायतले निरिक्षणको कार्य गर्नु भएको थियो । अन्र्तक्रिया कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाका प्रमुख कमला जोशीले गर्नु भएको थियो ।

 

ताजा समाचार