लैङ्गिक रुपान्तरण अवधारणा तथा प्रेषण संयन्त्र सम्बन्धी कार्यशाला


झलारी : लैङ्गिक रुपान्तरण अवधारणा तथा प्रेषण संयन्त्र सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सोमवार शुक्लाफाँटा नगरपालिका १० झलारीमा सम्पन्न भएको छ । साथी संस्थाले आयोजना गरेको गोष्ठीमा लैङ्गिक हिंसाको अबस्था बारे चर्चा गरिएको छ । गोष्ठीमा बोल्दै नगर उप प्रमुख कल्पना पन्तले हिंसामा परेका व्यक्तिहरुलाई न्यायको प्रत्याभूती हुने गरी कार्य अगाडी बढाउनु पर्ने बताउनु भयो । अन्यायमा परेका महिला पुरुष जो सुकै भएपनि प्रहरी, नगर सेफ हाउस, न्यायिक समिति, अड्डा अदालत मार्फत न्याय प्रदान गर्न सकिने उहाँले बताउनु भयो । हिंसा समाजका लागि हितकर नभएकाले त्यसको निराकरण गर्नका लागि पीडितलाई न्याय दिलाउनु सबैको कर्तव्य भएको उहाँको भनाई थियो ।

वडा नं ११ का वडा अध्यक्ष शेर बहादुर साउदले आफु सुध्रिए अरुलाई सुध्र्रान सकिने भएकाले समाजमा विद्यमान कुरिति, विकृति विसंगती हटाउनका लागि समाजका सबै वर्गको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । लिङ्गका आधारमा हुने हिंसा अन्त्य गर्नका लागि आजैबाट सबैले प्रण गर्नु पर्ने उहाँले उल्लेख गर्नु भयो । साथी संस्थाका सुदूरपश्चिम संयोजक पार्वती भण्डारीले विद्यमान विभेदपूर्ण सांस्कृति मूल्य मान्यतालाई तत्काल परिवर्तन गर्न नसकिए पछि पछिल्लो पुस्ताबाट हटदै जाने बताउनु भयो । समतामूलक समाज, परिवार निर्माणको आवश्यकता रहेको कुरा उहाँले औंल्याउनु भयो । गोष्ठीमा सेती प्रादेशिक अस्पताल एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसिएमसी)का मिना चन्दले कार्यक्रमका सहभागीहरुलाई लैंङ्गिक हिंसा सम्बन्धी एकद्वार व्यवस्थापन केन्द्रको परिचय, केन्द्रबाट उपलब्ध हुने सेवा सुविधा, केन्द्र अन्र्तगतका समन्वयात्मक आधिकारिक निकायहरु बारे उहाँले जानकारी दिनु भयो ।

यसैगरी, लैंङ्गिक हिंसाले निम्त्याउने समस्या, चुनौती, हिंसा पीडितले प्राप्त गर्ने उपचार सेवा, लैंङ्गिक हिसा भए सम्पर्क गर्ने हेल्पलाईन, हटलाईन सेवा,लैङ्गिक रुपान्तरण अवधारणा तथा प्रेषण संयन्त्र निर्माण बारे ओसिएमसीका चन्दले गोष्ठीका सहभागीहरुलाई बताउनु भयो । गोष्ठीका अर्का प्रशिक्षक गोकुल खडकाले हानिकारक सामाजिक मूल्य र मान्यताका अभ्यास बारे गोष्ठीका सहभागीहरुलाई जानकारी गराउनु भयो । गोष्ठीमा शुक्लाफाँटा नगरपालिकाका महिला विकास शाखाका प्रमुख कमला जोशी, कृष्णपुर नगरपालिकाका महिला शाखाका प्रमुख माला गौतम, लैंङ्गिक हिंसा सम्बन्धी कार्य गर्ने संघ संस्थाका प्रतिनिधि, सरोकारवालाहरु, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img