राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर ः शुक्लाफाँटा नगरपालिकाको हिउदे नगर सभा दुई वटा संसोधन विधेयक पारित गर्दै सम्पन्न भएको छ । विद्युतीय तथा अटो रिक्सा दर्ता(सञ्चालन तथा व्यवस्थापन सम्बन्धि ) ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक २०८१ र आर्थिक ऐन २०८१ को संशोधन विधेयक नगर सभाबाट पारित गरिएको हो । नगर सभामा संसोधनका लागि पेश भएको आर्थिक ऐन २०८० को दफा ३ को उप दफा ७ थप गरिएको छ ।

थप गरिएको उप दफामा ‘शुक्लाफाँटा नगरपालिकामा विद्युतीय रिक्सा तथा पेट्रोलिय पदार्थबाट चल्ने तीन पाङग्रे अटो रिक्सा सञ्चालकहरुले सवारी साधनको मोडेलको रोड वर्थनेस टेस्ट भएको प्रमाण पत्र पेश गरे पश्चात मात्र दर्ता गरिने छ’ उल्लेख गरिएको छ । यसैगरी, नगरपालिकाका आर्थिक ऐन २०८१ को अनुसूचि ३ को छ मा दुना टपरी उद्योगलाई दर्ता दस्तुर रु एक हजार, सोही ऐनको अनुसूचि ३ को ठमा केक तथा बेकरी पसल दर्ता दस्तुर रु २०००, अनुसूचि ३ को ट घरपालुवा कुकुर दर्ता तथा नविकरण दस्तुर रु एक सय र घरपालुवा विरालो दर्ता, नविकरणका लागि दस्तुर रु ५० तोक्ने गरी संशोधन गरिएको छ ।

नगर सभामा नगर प्रमुख रण बहादुर महराले निर्णयार्थ पेश गर्नु भएका विधेयक सर्वसम्मतीका आधारमा पारित गरिएका हुन ।
नगर सभामा योजना रकमान्तर, परिवर्तन गर्नका लागि पेश गरिएको प्रस्ताव र नगरपालिकाका स्वास्थ्य संस्थामा कार्यरत करारका कर्मचारीको तलव समायोजन गर्ने प्रस्तावलाई पनि परित गरिएको छ । नगर सभाका सदस्यहरुले उठाएका सवालहरुको जफाव दिनु हुदै नगर प्रमुख रण बहादुर महराले नगर विकासको गतिलाई इमान्दारीता पूर्वक अगाडी बढाईएको बताउनु भयो ।

“नगर गौरवका योजनालाई अगाडी बढाउन चुनौती थियो” उहाँले भन्नुभयो, “सबैको साथ सहयोगले त्यो कार्य अगाडी बढेको छ, नगरबासीले महशुस हुने गरी विकासका कार्य अगाडी बढेका छन ।” “केही गरिएको छैन भन्ने भाष्य स्थापित गर्न खोजिएको छ, गलत नियतले कार्य खोजेका छैनौं, हुन पनि दिदैनौं” उहाँले भन्नुभयो । नगर उप प्रमुख कल्पना पन्तले फोहरमैला व्यवस्थापन केन्द्र, चक्रपथ सडक निर्माणको कार्य, स्वास्थ्य चौकी भवन, वडा कार्यालय भवन लगायतका भौतिक पूर्वार निर्माणको कार्य अगाडी बढेको बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले नगर सभाका सदस्यहरुले छलफलका क्रममा उठाएका बिषयबस्तुलाई गम्भीर रुपमा लिएको उल्लेख गर्नु हुदै योजनाबद्ध रुपमा अगाडी बढाउनका लागि प्रयासरत रहने बताउनु भयो ।
नगर सभका सदस्यहरुले जङगली जनवरको आतंक नियन्त्रण, नदीमा तटबन्ध निर्माण, ऐलानी जग्गाको लालपूर्जा उपलव्ध गराउने, सबैको पहुँचमा स्वास्थ्य सेवालाई पुरयाउने, रोजगारी देखि विकास सहभागीतामा महिलाको प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने, करको दायरालाई फराकिलो पारेर राजश्व सङकलनको कार्य गर्नु पर्ने, दलित समुदायका बालबालिकाबाट सामुदायिक विद्यालयमा लिईदै आएको शुःल्क मिनाहा गर्नु जस्ता बिषय बस्तुहरु उठान गरिएका थिए । नगर सभामा रमेश बहादुर ऐर, शेर बहादुर साउद, बहादुर सिंह महरा, उत्तदरदेव भट्ट, भुमा चन्द, लाल बहादुर महरा, सकुन्तला कामी, अञ्जना चौधरी, जयराज पाण्डेय, केशव सिंह ठगुन्ना लगायतका छलफलमा भाग लिनु भएको थियो ।






