कञ्चनपुर:कञ्चनपुरको बेलौरी नगरपालिकाले गृहमन्त्री रमेश लेखकलाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ । मंगलबार गृहनगर आईपुगेका गृहमन्त्री लेखकलाई बेलौरी नगरपालिकाले कार्यकक्षमा स्वागत गर्दै ज्ञापन पत्र बुझाएको हो । नगरका मेयर पोतिलाल चौधरीले जिल्लाकै पहिलो सदरमुकाम बेलौरीको दीगो विकास र सम्बृद्धिसंग जोडिएका विषयमा संघीय सरकारले गम्भिर चासो दिनुपर्नेतर्फ गृहमन्त्री लेखकको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको बताए ।
मेयर चौधरीका अनुसार जिल्लाको दक्षिणी क्षेत्र डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी भएर बेदकोट हुँदै जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने हुलाकी सडक ८ बर्षवितिसक्दा पनि अहिलेसम्म पुर्ण निर्माण हुन नसकेको अवस्थामा यथाशिघ्र निर्माणका लागि संघीय सरकारले निर्माण कम्पनीलाई निर्देशन दिनुपर्ने र बेलौरी छोटी भन्सारलाई नाकाकै रुपमा विकास गर्न माग अघि सारिएको बताए । ईप्रका बेलौरीको कार्यालय स्तबृद्धि गरेर डिएसपीको दरबन्दी सृजना गर्नुपर्ने, पचुई क्षेत्रमा हुलाकी सडक निर्माणमा भारतीय अबरोध भएकाले सो खुलाउनुपर्ने, बेलौरीका सीमावर्ती क्षेत्रमा नेपाली किसानसंग जग्गाधनी प्रमाण पत्र भएपनि खनजोत उपभोगमा भारतीय अवरोध हुने भएकाले सो हटाउनुपर्ने, सीमा सुरक्षादेखि अवराध नियन्त्रणका लागि पहल गरिनुपर्ने, बेलौरी–कलुवापुर सडकखण्डमा निर्माणाधिन सडक शुक्लाफाँटा निकुञ्जको अवरोध हटाउनुपर्ने, छोटी भन्सारदेखि बेलौरी बजार हुँदै मैनाहसम्मको सडक स्तरोन्नतीका लागि पहल गरिदिन माग अघि सारिएको छ ।
बेलौरी नगरका मेयर पोतिलाल चौधरीले गृहमन्त्री लेखकलाई दिएको ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री लेखकले बेलौरी नगरपालिकाले अघि सारेका विषयमा सम्बन्धीत मन्त्रालय मार्फत अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन । गृहमन्त्रीलाई बेलौरी नगर काँग्रेसका नेता कार्यकर्ताहरुले सीमावर्ती बेलौरी नगरको सम्बृद्धिका योजनाका लागि पहल गरिदिन आग्रह गरेका छन ।