कञ्चनपुर : गिद्ध संरक्षणको कार्यमा युवाहरुको सहभागीता बढाउनका लागि बेलौरी नगरपालिकामा आइतवार सचेतना कार्यक्रमको आयोजना गरियो । सोह्रौ अन्र्तराष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्व सन्ध्यामा नेपाल पंछी संरक्षण संघको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन नगर प्रमुख पोतिलाल चौधरीले गर्नु भएको कार्यक्रमका प्रमुख अतिथि नगर उप प्रमुख जोगराम चौधरीले प्रकृतिका कुचिकार गिद्ध जोगाउनका लागि बासस्थान जोगाउन आवश्यक रहेको बताउनु भयो । गिद्ध बस्ने अग्ला सिमल, सखुवा लगायतका रुखहरु मासिदै गएपछि गिद्धको संख्यामा निकै कमी आएको बताउनु भयो । “दशक अघि गिद्ध सहजै देखिने गरेका थिए” उहाँले भन्नुभयो, “हाल गिद्ध देख्नै दुलर्भ भएको छ ।”

बासस्थानको सुरक्षा संगै जनावरमा प्रयोग हुने घातक बिषादीको प्रयोगमा कमी ल्याउनु पर्ने उहाँको भनाई थियो । उहाँले गिद्ध संरक्षणका लागि युवाहरु संग हातेमालो गर्न इच्छुक रहेको बताउनु भयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारादत्त अबस्थीले गिद्धको सङख्यामा कमी आउदानै हैजा, टाईफाड, आउ, झाडापखाला लगायतका रोगहरुको प्रकोप देखिदै आएको बताउनु भयो । पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधीमा प्रतिवन्ध लगाईए पनि अन्य गिद्धका लागि घातक मानिएका औषधीको प्रयोग नरोकिदा चुनौती थपिदै गएको उहाँले बताउनु भयो । चराविज्ञ हिरुलाल डगौराले अव्यवस्थीत विद्युतीय तारमा परेर गिद्धको मृत्यु हुने गरेको पाईएकाले नगरपालिकाले अव्यवस्थीत विद्युतका तारहरु व्यवस्थीत गर्नका लागि अग्रसर हुनु पर्ने बताउनु भयो । अर्को समस्याका रुपमा अन्तरदेशिय कानुनी अडचनका कारण समयमै घाइते गिद्धको उद्धार हुन नसक्दा मृत्यु हुने गरेको उल्लेख गर्नु भयो ।

आधुनिक कृषि प्रणालीको विकास र मृत्य पशुचौपायाहरु गाडने चलनले गिद्धलाई खानाको अभाव हुदै आएको उहाँको भनाई रहेको छ । नब्बेको दशकमा ९५ प्रतिशत सम्म घटेका गिद्धको संङख्या “जनचेतनाको प्रभावका कारण बढदै गएको छ” उहाँले भन्नुभयो, “हराउदै गएका गिद्धहरु पुनः देखिन थालेका छन, गिद्ध जोगाउनका लागि युवाहरुले अग्रसर भएर समुदायमा सचेतना छर्नु पर्ने भएको छ ।” उहाँका अनुसार नेपालमा नौ प्रजातीका गिद्धहरु पाईने गरेका छन । जसमा डंगर, सानो खैरो, सेतो हिमाली, लामो ठुडे, सुन,हाडफोर, खैरो र राज गिद्ध रहेका छन । बेलौरी नगर युवा सञ्जालका अध्यक्ष बिष्णदत्त अबस्थीले गिद्ध बारे आयोजना गरिएको कार्यक्रमबाट गिद्धको विगत र वर्तमान अबस्थाका बारेमा जानकारी पाएर सचेत भएको बताउनु भयो ।

“गिद्धले वातावरण सन्तुलन गर्ने कार्यमा अहं भूमिका खेल्ने गरेको जानकारी पायौं” उहाँले भन्नुभयो, “संरक्षणका लागि अग्रसर भएर लाग्ने प्रतिवद्धता गर्दछौं ।” प्रत्येक वर्षको सेप्टेम्बर महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाईने गरिन्छ । आफनै योजना तथा अनुकुलता अनुसार यो दिवस नेपालमा सप्ताहव्यायी रुपमा १ देखि ७ सेप्टेम्बर सम्म मनाईदै छ । कार्यक्रममा ६० जना युवाहरुको सहभागीता रहेको थियो ।






