झलारी : पूर्व पश्चिम राजमार्ग संगै जोडिएको शुक्लाफाँटा नगरपालिका १० झलारीको नहर टोलका दुई दर्जन बढी स्थानिय बासिन्दाको घर भित्र वर्षाको पानी पसेको छ । पानीको निकास साधुँरो हुदा बर्षाको पानी स्थानिय बासिन्दाको घर भित्र पसेको हो । वर्षाको पानी घर भित्र पस्दा स्थानिय बासिन्दाका लताकपडा, खाद्यान्न, भाडाँकुडा लगायत अन्य आवश्यक सामग्रीमा क्षति पुगेको छ । स्थानिय भिमराज अबस्थीले वर्षाको पानी घर भित्र पस्दा नव सृजना सहकारी संस्थाको भण्डारण गरेर राखिएको डिएपी, युरिया, पोटास लगायतको मलमा निकै क्षति पुगेको बताउनु भयो ।
“मल पानीमा डुव्दा गलेर गएको छ” उहाँले भन्नुभयो, “घरमा भाडामा बस्नेहरुको खाद्यान्न देखि लताकपडा सम्मका सामग्रीमा क्षति पुगेको छ ।” आँगनमा घुडाँ सम्मको पानी छ, घर भित्र प्रवेश गर्न निकै गाह्रो हुदै आएको स्थानिय दिपेन्द्र भट्टले बताउनु भयो । उहाँका अनुसार पहिला सडकका ठाउ ठाउमा होमपाईप राखिदा पानी सहजै निकास हुन्थ्यो, डुवानको समस्या थिएन । अहिले सडक चौडा गर्दा होमपाईप हटाईदा डुवानको समस्या भएको छ । “महाकाली सिचाई आयोजना तेश्रोचरणको शाखा ढलान युक्त नहर निर्माणले बाँध बाँधे जस्तै भएको छ”, उहाँले भन्नुभयो, “ढलान गरिएको नहरको संरचना साधुरो हुदा पुरै पानी अटदैन ओभरफ्लो भएर पानी बस्तीमा छिर्ने गरेको छ ।” बस्तीको पानी बग्ने पूर्व पश्चिम राजमार्गमा बनाईएको कल्भर्ट साँधुरो र त्यसकै मुखमै सिचाई आयोजनाले ढलानको कार्य गरिदिए पछि पानी निकास हुन नपाएको उहाँको भनाई रहेको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी जवान, डिभिजन सडक कार्यालय, सिचाई आयोजनाका कर्मचारी र स्थानिय बासिन्दाले थुनिएको कल्भर्ट सफाईको कार्य गरेका छन । साँधुरो कल्भर्ट भित्रै नहरको संरचना निर्माण, टेलिफोनका केबुलका तारहरु र खानेपानीको पाइप छिराउने कार्यले समस्या भएको इप्रका झलारीका प्रहरी निरीक्षक बिर बहादुर बुढाऐरले बताउनु भयो । सडक चौडा गर्ने कार्य संगै कल्भर्टलाई चौडा बनाईए पानीको सहज निकास हुने उहाँले बताउनु भयो । डुवानको समस्या समाधानको माग गर्दै स्थानिय बासिन्दा संघर्षमा उत्रिएका थिए । पूर्व पश्चिम राजमार्ग अबरुद्ध गर्नका लागि आएका बासिन्दालाई प्रहरीले सम्झाई बुझाई गर्दा अबरोध हुन पाएन । डुवानको समस्या समाधानका लागि नगरपालिका कार्यालय पुगेका थिए । समस्यास समाधानका लागि गुहार माग्न गएका महिलाहरुले नगर प्रमुखले रुखो व्यवहार गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन । वडा अध्यक्ष लाल बहादुर ऐरले डुवानको समस्या समाधानका लागि भरपर्दो प्रयास गर्ने अश्वासन दिनु भएको छ ।