कञ्चनपुर : बहु औषधिका रुपमा प्रयोग हुने विजयसाल संरक्षणका लागि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले एक दशक अघि देखि कार्य अगाडी बढाउदै आएको छ । सामुदायिक वनहरुलाई समन्वय समितिले विजयसालको पुनः उत्पादनका लागि सहयोग पुरयाउदै आएको हो । प्राकृतिक रुखहरुबाट बीउ सङकलन गरी नर्शरी तयार गरी सामुदायिक वनहरुमा विजयसालका विरुवा रोप्ने कार्य गरिदै आएको छ । “काठका भाँडा निर्माण गर्न, फर्निचरमा प्रयोग गर्न र घाँस दाउराका रुपमा विजयसलाका प्राकृतिक रुखहरु अबैध रुपमा कटानीको कार्य भएपछि लोपोन्मुख अबस्थामा पुगेको छ” समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले भन्नु भयो, “विजयसाल जोगाउनका लागि अभियाननै थालेका छौं, समन्वय समितिमा आवद्ध सामुदायिक वनहरुलाई वृक्षारोपण संगै पुनः उत्पादनका लागि आर्थिक र प्राविधिक सहयोग उपलव्ध गराउने कार्य हुदै आएको छ ।”परम्परागतकाल देखि औषधीका रुपमा प्रयोग हुदै आएको विजयसाल जोगाउनका लागि बृक्षारोपणको कार्य संगै सामुदायिक वनका पदाधिकारी, उपभोक्ताहरुलाई तालिम, छलफल र गोष्ठीका माध्यमबाट सचेत पार्ने कार्य गरिदै आएको उहाँले बताउनु भयो ।

“सामुदायिक वन क्षेत्रमा खुला चरिचरन निषेध, व्लक स्थापना गरी मेसवायर जडान, आगलागी नियन्त्रण, घाँस दाउराका लागि डाले घाँस लगाउने लगायका कार्यले दशक अघि देखि विजयसाल जोगाउने अभिायनले सार्थकता पाएको छ” उहाँले भन्नुभयो, “बहुमूल्य औषधीका रुपमा रहेको विजयसालको पुनः उत्पादनलाई बढाउन सफल भएका छौं ।”सिस्ने सिमसार क्षेत्र, जनहित महाकाली, दिपेन्द्र स्मृति, विशाल , बैजनाथ, जयलक्ष्मी, ग्लावारी, विरेन्द्र आदर्श लगायतका सामुदायिक वन क्षेत्रमा रोपिएका विजयसालका विरुवाहरु हुर्कदै गएका छन ।सिस्ने सिमसार क्षेत्रको १२ हेक्टर क्षेत्रफलमा विजयसालका विरुवा रोपिएका छन । सामुदायिक वनहरुमा पाँच सय हेक्टर क्षेत्रफलमा विजयसालका विरुवाहरुका नमूना प्लटहरु निर्माण गरि रोपिएका छन ।पहिले कञ्चनपुर देखि कपिलबस्तु सम्मको क्षेत्रमा विजयसाल पाईने गरेको उल्लेख गर्नु हुदै अध्यक्ष जोशीले हाल कञ्चनपुर र कैलालीका केही क्षेत्रमा मात्रै न्यून मात्रामा मात्रै विजयसालका प्राकृतिक रुखहरु रहेको बताउनु भयो । उहाँका अनुसार पुराना रुखहरु विगतमा घाँस र दाउराका रुपमा स्थानिय बासिन्दाले प्रयोग गर्दा घटदै गएका हुन ।

“रुखमा जथाभावी रुपमा खोपेर चोप निकाल्ने कार्यले केही रुखहरु सुकेर सकिए” उहाँले भन्नुभयो, “केही रुखहरु सुक्ने अबस्थामा छन, नगन्य मात्रामा मात्रै पुराना विजयसालका रुखहरु बचेका छन, वनहेराला परिचालन गरी ती रुखहरुको बीउ सङकलन गरी विरुवा तयार गर्ने कार्यलाई निरन्तरता दिएका छौं । ”वर्षेनी वृक्षारोपणको कार्य संगै वन क्षेत्रमा आफैं उम्रेका विरुवाहरुको संरक्षणको कार्य हुदै आएको छ । देख्नै दुलर्भ हुन थालेको विजयसाल हाल वन क्षेत्रमा सहजै देख्न सकिने भएको छ ।विगतमा आगलागिका कारण समेत पुनः उत्पादन भएका विजयसालका विरुवाहरु मर्ने गरेका थिए । हाल उपभोक्ताको सक्रियताले वनमा आगलागी हुन नपाउदा विरुवाहरु हुर्कदै गएका छन ।शुक्लाफाँटा नगरपालिकामा रहेको बैजनाथ सामुदायिक वनमा विजय सालका पुराना आठ वटा रुखहरु मात्रै रहेकोमा हाल बढेर नयाँ बोटहरुको संख्या सात सय पुगेको वनका अध्यक्ष बहादुर सिंह महराले बताउनु भयो । वन संरक्षणकर्मीहरुका अनुसार वन क्षेत्रमा विजयसालका पुराना रुखहरु तीन सय देखि पाँच सयको हाराहारीमा मात्रै रहेका छन ।विजयसाल दम, मुटु रोग, ग्याँष्ट्रीक, चर्मरोग, चोटपटक, मर्केको र सुन्नीएको ठिक गर्न परम्परागतकाल देखि प्रयोग हुदै आएको छ ।







