रमेश प्रसाद भट्ट/कञ्चनपुर– कञ्चनपुरमा बाढीले क्षतिग्रस्त नहर मर्मतमा बजेट अभावले समस्या भएको छ । असार महिनामा अविरल बर्षाका कारण आएको बाढीले जिल्लाका विभिन्न स्थानमा क्षतिग्रस्त भएका महाकाली सिचाँई अन्तरगतका नहरको पुनः निर्माणमा समस्या भएको हो । बाढीले महाकाली सिचाँई व्यवस्थापन कार्यालय अन्तरगतका पहिलो र दोस्रो चरण अन्तरगतका भिमदत्त, वेतकोट, बेलडाँडी र बेलौरी क्षेत्रका विभिन्न स्थानमा नहर भत्किएर क्षतिग्रस्त भएका छन् । भत्किएका नहर निर्माण गर्न आवश्यक बजेट अभावले काम गर्न समस्या भएको महाकाली सिचाँई व्यवस्थापन कार्यालय महेन्द्रनगर कञ्चनपुरका कार्यालय प्रमुख (सि.डि.ई) रामकृष्ण घोरासैनीले बताउनु भयो ।

उनले भने “असारमा आएको बर्षाको बाढीले जिल्लाका थुप्रै स्थानमा नहर भत्काएर सिचाँई सुविधामा बाधा पुगेको छ, क्षेतिग्रस्त नहरलाई मर्मत सम्भार गर्न प्रयाप्त बजेट अभावले समस्या भएको छ ।” महाकाली सिचाँईको प्रथम र द्धितिय चरण अन्तरगतका भत्केका नहरहरुको क्षतिको विवरण बुझ्न प्रमुख जिल्ला अधिकारी सहितको प्राविधिक टोलीले स्थलगत अनुगमन गर्दा जिल्ला भरीमा भत्केका नहर मर्मतका लागि योजना बनाए अनुसार २९ करोड २२ लाख बढि खर्च लाग्ने देखिएको र त्यसका लागि एक रुपायाँ पनी बजेट नरहेकाले समस्या भएको महाकाली सिचाँई व्यवस्थापन कार्यालय कञ्चनपुरका प्रमुख (सि.डि.ई) घोरासैनीले बताउनु भयो । उहाँका अनुसार सबै भन्दा बढी क्षति द्धितीय चरण अन्तरगतको बेलडाँडी, बेलौरी क्षेत्रमा भएको छ ।

‘हामिले नहर मर्मतका लागि स्टुमेड बनाएर उर्जा जलस्रोत तथा सिचाँई विभाग र अर्थ मन्त्रालयमा बजेट मागका लागि सबै प्रकृया पुर्याएर पठायौ’, ‘सि.डि.ई. घोरासैनीले भने तरपनि बजेट आउने छाट केहि केहि नदेखिदा नहर मर्मतमा समस्या भएको छ ।’ कार्यालयका लागि चालु आर्थिक बर्षका लागि ४ करोड ६० लाख रुपयाँ आएको भएपनि बजेट निश्चित पुर्व निर्धारित कार्यक्रम अनुसार आउछ, त्यसरी आएको बजेट अरु शिर्षकमा खर्च गर्न मिल्दैन सि.डि.ई.घरासैनीले बताए । कञ्चनपुरमा महाकाली सिचाँई अन्तरगतको प्रथम र द्धितिय चरणको जम्मा ११ हजार ६ सय हेक्टर क्षेत्रफलमा सिचाँई सुविधा भएपनि अझैपनि किसानले सहज रुपमा सिचाँई गर्न पाईरहेका छैनन् । त्यसमा अझ प्रकोपका कारण क्षति भएका नहर बजेट अभावले समयमै निर्माण नगरीदा खेतीपातीका समयमा किसानलाई समस्या भएको छ ।







