धन सिंह धामी / महेन्द्रनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरको एक नगरले वृहत नगर भेला सम्पन्न गरेको छ । शनिबार झलारी शुक्लाफाँटा नगरपालिकामा क्षेत्र नं.२ राप्रपा नगर समितिले विभिन्न कार्यक्रमको साथ नगर भेला सम्पन्न गरेको हो । राप्रपा शुक्लाफाँटा नगर अध्यक्ष हिक्मत रतुकिको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रिय बरिष्ठ सल्लाहकार दशरथ जोशीे रहेका थिए भने बिशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश सदस्य जित बहादुर भण्डारी, क्षेत्र नं.२ का अध्यक्ष बम बहादुर बम लगायतको वृहत सहभागिता रहेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा देखि केन्द्र सम्मको महाधिवेशन तयारी संगै पार्टीका सक्रिय सदस्य तथा पार्टी प्रवेश गर्नेहरुको लहर चलेको बेला पार्टी मजबुद बनाउदै संगठन विस्तार गर्ने क्रममा वृहत भेला आयोजना गरेको नगर अध्यक्ष रतुकीले जानकारी दिएका छन । उक्त भेलामा पार्टीको स्थापनाकाल देखि पार्टीलाई अगाडी बढाउनमा अहम भुमिका निर्वाह गरेका र नयाँ पार्टी प्रवेशी ७५ जनालाई सम्मान पत्र प्रदान गरेका थिए । राष्ट्र र राष्ट्रियताको सवालमा सबैले एक जुट हुनुपर्ने प्रमुख अतिथि जोशीको भनाई रहेको थियो भने पार्टीलाई संशक्तरुपले अगाडि बढाउन आ–आफ्नो ठाउँबाट सबैले भुमिका निर्वाह गर्नु पर्छ भन्ने कुरामा क्षेत्र नं. २ का अध्यक्ष बमले जोड दिएका छन ।
उक्त भेला सम्पन्न पछि कृष्णपुर नगर र वेदकोट नगर भेला कार्यक्रम रहेको क्षेत्र नं. २ का अध्यक्ष बमले वृहत तयारी रहेको बताएका छन । राप्रपाको नगर भेलामा महिला संगठनकी केन्द्रिय सदस्य लक्ष्मी सिंह, सुदूरपश्चिम प्रदेश,जिल्ला,क्षेत्रका अध्यक्ष तथा सदस्य लगायत नव पार्टी प्रवेशीहरुको वृहत सहभागिता रहेको थियो ।






