शुक्लाफाँटा: शुक्लाफाँटा नगरपालिकामा जलवायु उत्थानशील कार्यका लागि महिलाको क्षमता विकास तालिम सञ्चालन भएको छ । सोमबारबाट सुरु भएको तालिम तीन दिन बुधवारसम्म सञ्चालन हुने छ । तालिमको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले उद्धघाटन गरेका हुन् । तालिमको उद्धघाटन गर्दै उनले पछिल्लो समय जलवायु परिवर्तनले विभिन्न समस्याहरु निम्त्याइरहेकाले यसको न्यूनीकरणमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले तालिममा सिकेको कुराहरुलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना जोशी (पन्त)ले जलवायु परिवर्तन न्यूनीकरणमा आफुहरु लागिपरेको र संघसंस्थाहरुसंग समन्वय,सहकार्य गर्दै अघि बढिरहेको बताइन् । कार्यक्रममा बोल्दै राष्ट्रिय भूमी अधिकार मञ्चकी केन्द्रिय कोषाध्यक्ष पातली थामीले स्थानीय सरकारबाट जवरजस्ती उठिवास गर्ने काम रोक्नुपर्नेमा जोड दिँदै संविधानतह विना विकल्प उठिवास नगर्ने र भूमीहीन सुकुम्वासीको व्यवस्थापन गर्ने गरी काम गर्नुपर्ने बताइन् ।

जलवायु परिवर्तन,यसबाट भइरहेको जोखिम तथा प्रभावित समुदायको विषयमा हालको अवस्था विश्लेषण गरी जलवायु परिवर्तनजन्य जोखिमबारे बुझाई बढाउने,जलवायु उत्थानशील कार्यका लागि स्थानीय तहमा भइरहेको प्रयास भूस्वामित्व,भूमी व्यवस्थापन एवं भूमीमा महिला अधिकारबारे सिकाई आदानप्रदान गर्ने तथा स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र टोल तहबाट महिलाको अगुवाईमा गर्न सकिने जलवायुमैत्री अभ्यासहरुको विषयमा छलफल गरी सम्भावित कामको योजना बनाउने तालिमको उद्धेश्य रहेको कार्यक्रम व्यवस्थापक प्रेम प्रकाश नेपालीले बताए । तीन दिनसम्म सञ्चालन हुने तालिममा सहभागिहरुलाई जलवायु जोखिम,महिलाको भूमि अधिकार,स्थानीय भू उपयोग योजना र सामुदायिक भूमी व्यवस्थापन अभ्यास सहित समग्रतामा दीगो विकास,पर्यावरण संरक्षण,उन्नत जीवीकाका विषयमा प्रशिक्षण दिइने कार्यक्रम व्यवस्थापक नेपालीले बताए ।

नेपाली सहित राष्ट्रिय भूमी अधिकार मञ्चका राष्ट्रिय श्रोत व्यक्ति नरीराम लुहार र केन्द्रिय कोषाध्यक्ष पातली थामीले सहभागि महिलाहरुलाई प्रशिक्षण दिनेछन् । राष्ट्रिय भूमि अधिकार मञ्चका जिल्ला अध्यक्ष कर्ण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रण बहादुर महरा प्रमुख अतिथि रहेका थिए भने नगर उपप्रमुख कल्पना जोशी (पन्त) विशिष्ट अतिथि रहेकी थिइन् । कार्यक्रमको सञ्चालन मञ्चका प्रदेश सचिव राम बहादुर चुनाराले गरेका थिए । तालिममा भूमि,कृषि,जलवायु,विपद् व्यवस्थापनमा काम गर्ने संघसंस्था र समुहका महिला लगायत ४० जनाको सहभागिता रहेको छ । राष्ट्रिय भूमी अधिकार मञ्च नेपालले लेण्डेसाको आर्थिक सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका सहित कैलालीको गौरिगंगा नगरपालिका र बैतडीको पञ्चेश्वर गाउँपालिकामा महिलाको अगुवाईमा जलवायु उत्थानशील कार्यका लागि संयुक्त वकालत कार्यक्रम सञ्चालन गरिरहेको छ ।







