कञ्चनपुर : सशस्त्र प्रहरी बलको लेब्राडोर अल्फा फिमेल कुकुरले मानिसको मुखभित्र लुकाएर राखेको लागु औषध पत्ता लगाएको छ । पश्चिम सीमा नाका कञ्चनपुरको गड्डाचौकीबाट नेपाल भित्रिन लागेको अवस्थामा मानिसको मुखभित्र लुकाएर राखेको लागु औषध पत्ता लगाएको हो ।

आईतबार बिहान १०ः३० बजेतिर सशस्त्र प्रहरी बलको लेब्राडोर अल्फा फिमेल कुकुरले कैलालीका एक युवकले मुखभित्र लुकाएर नेपाल भ्रित्राउन लागेको खैरो हिरोईन(ब्राउनसुगर) पत्ता लगाएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल ३५नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरीका एसपी प्रेमप्रकास सिग्देलले चेकजाँचका क्रममा कुकुरले सकेत गरेपछि चेकजाँच गर्दा घोडाघोडी नगरपालिका ६ अस्नेराका २४ बर्षिया युवक बिक्रम मिजारको मुखमा लुकाईराखेको ०.१६ग्राम खैरो हिरोईन बरामद गरेको बताए ।

थप कार्बाहीका लागि सशस्त्र प्रहरीले मिजार सहित लागु औषध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पठाएको छ । दशैँ, तिहार लक्षित गरेर सशस्त्र प्रहरीले शनिबारदेखि गड्डाचौकीमा तालिमप्राप्त दुई कुकुर सहित सीमा क्षेत्रमा चेकजाँच गरिरहेको छ । कुकुर मार्फत सशस्त्र प्रहरीले नेपाल भित्रिने मानिसदेखिका समानमा चेकजाँच गरिरहेको छ ।











