राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकाको १७ औं नगर सभाले आब ०८१÷८२ का लागि अनुमानित रु ९९ करोड २७ लाख चार हजार सात सय एकको बजेट पारित गरेको छ । नगर उप प्रमुख कल्पना पन्तले नगर सभा समक्ष बजेट प्रस्तुत गरेको बजेट नगर सभाका सदस्यहरुले शुक्रवार पारित गरेका हुन । नगर सभामा बजेट प्रस्तुत गर्नु हुदै नगर उप प्रमुख पन्तले आय तर्फ आन्तरिक आय रु तीन करोड १५ लाख ८४ हजार, संघीय सरकार राजश्व बाँडफाँडबाट रु १३ करोड १३ लाख, प्रदेश सरकार राजश्व बाडँफाँडबाट रु ५६ लाख ४० हजार, नेपाल सरकार आन्तर सरकारी वित्तिय हस्तान्तरणबाट रु ४५ करोड ६२ लाख नौ हजार र प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु पाँच करोड तीन लाख ९७ हजार बजेट विनियोजन गरिएको उल्लेख गर्नु भयो । उहाँका अनुसार सामाजिक सुरक्षा तर्फ रु २५ करोड, क्षेत्रीय सहरी विकास कार्यक्रम तर्फ रु ९६ लाख ५४ हजार सात सय, सडक बोर्डबाट रु ७९ लाख २० हजार र गत वर्षको मौज्दात रु पाँच करोड रकम आय तर्फको बजेटमा समावेश गरिएको छ ।

व्यय तर्फ चालु खर्च रु ६६ करोड ६९ लाख ४२ हजार चार सय ८९ र पूजिँगत खर्च तर्फ रु ३२ करोड ५७ लाख ६२ हजार दुई सय ११ रहेको छ । “आगामी वर्षका लागि अनुमानित आय र व्ययको रकम बरावर हुने गरी विनियोजन गरेका छौं” नगर उप प्रमुख पन्तले भन्नुभयो, “सन्तुलित बजेटको सिद्धान्त अनुसार आगामी आबको बार्षिक नीति तथा कार्यक्रममा आधारित भएर बजेट तर्जुमा गरिएको छ ।” गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, लगागतका आधारभूत आवश्यकतामा नगरबासीको पहुँच अभिबृद्धि गर्ने, कृषि पशुपन्छी, उद्योग र पर्यटनको क्षेत्रको व्यवसायीकरण गर्ने, दीगो पूर्वाधार विकास, सरसफाई तथा शहरी विकास, वन तथा वातावरण, भाषा, साहित्य, कला, संस्कृति र सम्पदाको संरक्षण प्रवद्र्धन एवं विकास गर्ने बजेटको उद्देश्य रहेका छन । यसैगरी, मानव संसाधन विकास तथा संस्थागत सुशासन, आर्थिक रुपले विपन्न, अल्पसंख्यक तथा लक्षित वर्गको सशक्तिकरण गर्ने, संघीय, प्रदेश सरकार र गैरसरकारी संस्थाहरु विच विच साझोदारी गर्ने बजेटमा प्राथमिकता रहेको छ । वडा स्तरबाट सञ्चालन हुने योजनाहरुका लागि वडा नं २,३,६ र ९ मा रु २८ लाखका दरले, वडा नं ४ र १० मा रु ३३ लाखका दरले र वडा नं १,५,७,८,११ र १२ मा रु ३८ लाखका दरले गरी कुल रु चार करोड छ लाख बजेट विनियोजन गरिएको नगर उप प्रमुख पन्तले नगर सभालाई जानकारी गराउनु भयो ।

बजेटमा युवा तथा खेलकुद शाखाका लागि रु २६ लाख ४२ हजार नौ सय ८९, स्वास्थ्य शाखाका लागि रु ४० लाख, कृषि शाखाका लागि रु २३ लाख, पशु शाखाका लागि रु १० लाख, महिला विकास शाखाका लागि रु पाँच लाख, उद्यम विकास शाखाका लागि रु पाँच लाख, सहकारी शाखाका लागि रु दुई लाख, राजश्व शाखाका लागि रु एक लाख, उर्जा शाखाका लागि रु ५० हजार, सूचना प्रविधि शाखाका लागि रु एक लाख र भुमिहीन दलित भुमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोवासी शाखाका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ । यसैगरी, न्यायिक समितिका लागि रु सात लाख, रेडक्रस सोसाईटीलाई अनुदान रु एक लाख, एविविएस अध्ययनरत विद्यार्थीहरुका लागि छात्रबृत्ति रु एक लाख, कोल्ड स्टोर निर्माणका लागि रु एक लाख, बस पार्क निर्माण रु ५० हजार, मुक्त हलिया घर निर्माण रु ५० हजार, नगर सेफ हाउस रु ५० हजार, सामुदायिक छाडापशु चौपाया व्यवस्थापन अनुदानका लागि रु ३५ लाख र नगर प्रमुख सामुदायिक विद्यालय सुधार कोषका लागि रु एक लाख बजेट विनियोन गरिएको छ । नगर सभामा पेश गरिएका सेवा र कार्यहरुका लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ र अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ लाई स्वीकृत गरेको छ । नगर सभाले स्वीकृत गरेका विधेयक राजपत्रमा प्रकास भएपछि नगरको ऐनका रुपमा लागु हुने छन ।

नगर सभाका बोल्दै नगर प्रमुख रण बहादुर महराले थोरै साधन श्रोतका बाबजुट पनि धेरै विकास भएको बताउनु भयो । “दुई वर्षको उपलव्धी हेर्दा टाउटो निहुराएर हिडनु पर्ने अबस्था छैन” उहाँले भन्नुभयो, “बालेको भन्दा राम्रो विकास कार्य गरेपनि प्रचार नहुदा ओझेलमा परयौं, हामीले पनि सडक विस्तार गर्दा डेढ सय घर तोडने कार्य गरयौं प्रचार भएन ।”
प्रमुख प्रशासयिक अधिकृत खेमराज बिष्टले बेरुजु रकमलाई नियमित गराउने संगै फर्छौटका लागि कार्य अगाडी बढाईएको बताउनु भयो । उहाँका अनुसार नगरमा रु नौ करोड बेरुजु रकम रहेको छ । नगर सभाका सदस्यहरुले सिकलसेल एनिमिया चेकजाँचका लागि स्वास्थ्य सुविधा, वरघर ऐन कार्यान्वयन,उपभोक्ता समिति माथि कर्मचारीको लापरबाहीका कारण थोपारिएको बेरुजु रकम फछर्यौटका लागि कार्य अगाडी बढाईनु पर्ने र राष्ट्रिय परिचय पत्र जेष्ठ नागरिकलाई उपलव्ध गराउनका लागि टोलीलाई नगरमै खटाईनु पर्ने उल्लेख गर्नु भयो ।






