कञ्चनपुर : बाह्रौं राष्ट्रिय कर दिवस २०८०को कर सप्ताह (१–७) मंसिरको अवसरमा उद्योगी व्यवसायीहरुका लागि १ दिने करदाता शिक्षा तथा संचेतना कार्यक्रम गरिएको छ । मंगलबार भएको कार्यक्रममा जिल्ला भरीका उद्योगी व्यवसायीहरुलाई १ दिने कर सम्बन्धी तालीम दिएको हो । आन्तरिक राजस्व कार्यालय कञ्चनपुले मंसिर १ गते देखि ७ गते सम्म साप्ताहिक रुपमा कर दिवस मनाउन लागेको हो । सोही अवसरमा राजस्व कार्यालय कञ्चनपुरले विभिन्न स्थानमा कर सम्बन्धी तालीम दिदैं आएको छ । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, समाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ बाह्रौ राष्ट्रिय कर दिवस २०८० मनाउन लागेको हो ।
‘व्यपार व्यवसाय गर्दे आएका सबैलाई कर प्रणालीको बारेमा थाहा नभएर पनि समयमा कर बुझाउन नसक्दा डबल दस्तुर तिर्नु पर्ने हुन्छ यस प्रकारको कर शिक्षाले समयमै कर तिर्नु पर्ने र कसरी कारोबार गर्दा र समयमे कर तिर्दा सुविधा लिन सकिने भन्ने बारेमा बताईएको ’ सहभागी नरेश शिलाले बताए । बाह्रौ राष्ट्रिय कर दिवस २०८०को अवसरमा यही मंसिर ७ गते कञ्चनपुर उद्योग वाणिज्य संघको हलमा समयमै कर तिर्ने र सबैं भन्दा बढी कर तिर्ने व्यापारी, व्यक्ति, संघ संस्थालाई आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले सम्मान गर्ने भएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्वर जोशीको सभापतित्वमा, आन्तरिक राजश्व कार्यालय कञ्चनपुरका प्रमुख कर अधिकृत डोलिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम सञ्चालन कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर प्रसाद बोहराले गरेका थिए । आन्तरिक राजस्व कार्यालय कञ्चनपुर र कञ्चनपुर उद्योग वाणिज्यक संघको संयुक्त आयोजनामा करदाता शिक्षा कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न वस्तुगत संघका प्रमुख तथा प्रतिनिधी उद्योगी व्यवसायीहरुको सहभागि रहेको थियो ।