कञ्चनपुर: परराष्ट्रमन्त्री एनपी साउदले आरक्षपीडितका समस्या अब आयोगबाटै हुने बताएका छन । सोमबार कृष्णपुरमा आरक्षपीडितसंग छलफल गर्र्दै मन्त्री साउदले पीडितको समस्या अब आयोगबाटै समाधान गरिने बताएका हुन । मन्त्री साउदले कञ्चनपुरका आरक्षपीडितको समस्या अब आयोगबाटै समाधान हुने र अन्तिम आयोग हुने समेत बताए । ‘अहिलेसम्म धेरै आयोग बने तर अब बन्ने आयोग शक्तिशाली बनाउन सरकार लागि परेको छ, अब पीडितको पुर्नस्थापना आयोगबाटै हुन्छ ।’ सरकारले अब पीडितलाई नपर्खाउने बताउँदै मन्त्री साउदले यस पटक न्यायिक आयोग बनेको बताए । ‘आरक्षपीडितको समस्या अन्तिमका लागि समाधानका लागि अधिकार सम्पन्न आयोग बनाए पठाउँछौँ, ‘मन्त्री साउदले भने, ‘विगत भन्दा यो आयोगले पीडितको माग सम्बोधन गर्छ ।’
पीडितलाई जमिन वा जमिन दिन नसके मुआब्जा दिने गरेरै भएपनि सरकारले त्यही तयारी गर्ने बताए । विगतका आयोगले गरेका कामलाई समेत आधार बनाएर वास्तविक पीडितलाई पुर्नस्थापना गरिने बताए । ‘अब आयोग गठन भईसकेको छ, सरकार पीडितकै पक्षमा लागेको छ, ‘उनले भने, ‘पीडितको पुर्नस्थापना ६ महिनामै टुङग्याउनुपर्छ ।’ मन्त्री साउदले पीडितको पुर्नस्थापनाका लागि आफुले सबै क्षेत्रमा पहल गर्ने आश्वासन दिए । आरक्षपीडित संघर्ष समितिका सचिव प्रेमदत्त भट्टले अब पीडितको पुर्नस्थापनाका लागि सरकारले बिलम्ब गर्न नहुने बताएका छन ।
आरक्षपीडितका अगुवा समेत रहेका भट्टले पीडितको समस्यालाई आफ्नै समस्या सम्झिएर समाधान गर्न परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएका छन । ०५८ सालमा अन्तिम पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापितहरुको अझै पुर्नस्थापना नहुँदा उनीहरु विभिन्न स्थानमा झुपडी बनाएर बस्न बाध्य भएका छन । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता सिरोमणी कुमार ओझा(सुर्य)ंले मन्त्री साउदको आश्वासन पाएपछि पीडित हर्षित भएको बताए ।