बेलडाँडी–दैजी सडकखण्डमा दिउँसै हात्तीको मुभमेन्ट

हरिश्चन्द्र बाग / केशव सिंह थापा, कञ्चनपुर: कञ्चनपुरको बेलडाँडी–दैजी सडकखण्डमा दिउँसै हात्तीको मुभमेन्ट बढ्न थालेको छ । शनिबार दिउँसो मात्रै पनि उक्त सडकखण्डमा हात्तीको बथान देखिएको थियोे । जसका कारण केही समय ओहोरदोहोर नै रोकिएको प्रत्यक्षदर्शी मर्यादा बिष्टले बताउनु भयो ।

दिउँसै बेलडाँडी-दैजी हुलाकी सडकखण्डमा जङ्गली हात्तीले मुभमेन्ट चलाएपछि नागरिक त्रसित भइरहेका छन् । वन्यजन्तुको अधिकार र मानवको सुरक्षा दुवैलाई मध्यनजर गरी सम्बन्धित निकायले अग्रसरता देखाउनु पर्ने उहाँको भनाइ छ । बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले बेलडाँडी-दैजी सडकखण्डमा हात्तीको बथान सडक छेउमै रहेको खबर प्राप्त भएकोले सतर्कता अपनाई यात्रा गर्न अनुरोध गर्नुभएको छ ।

उक्त सडकखण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र भएकोले वन्यजन्तुको ओहोर दोहोर स्वभाविक मानिन्छ । यद्यपि यात्रुहरूले सतर्कतापूर्वक समूहमा मात्रै ओहोरदोहोर गर्नु उचित ठहरिन्छ । यसका साथै मानव-वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरणका लागि सरोकारवाला निकाय पनि गम्भीर हुन आवश्यक छ ।

ताजा समाचार