कञ्चनपुर : बेलौरीमा नगरपालिकामा कर्मचारीले आफ्नै कम्पनीलाई कोटेशन दिएपछि बबण्डर मच्चिएको छ । बेलौरी नगरपालिकामा कार्यरत सव ईन्जिनियर राजेन्द्र विष्टले अाफ्नाे बुवा कालुसिह विष्टको नाममा रहेको लटिनाथ निर्माण सेवालाई १० लाखको कोटेशन दिएपछि बेलौरी नगरपालिकाभित्र बबण्डर मच्चिएको हो । सुचना अधिकारीको जिम्मेबारी समेत पाएका सव ईन्जिनियर विष्टले गत आर्थिक बर्ष ०७९/०८० मा आफ्नै कम्पनीलाई कोटेशन दिएपछि अन्य दलमा आबद्ध कर्मचारी हैरान भएका छन । एमाले निकट पेशागत महासंघ कञ्चनपुरका अध्यक्ष समेत रहेका विष्ट र उनको पार्टीले सुशासनको ठुलठुला कुरा गर्ने तर आफै आफ्नै कम्पनीलाई कोटेशन दिएर गुणस्तहिन काम गरेको भन्दै कर्मचारी, जनप्रतिनिधी र स्थानीय हैरान भएका छन । एमालेबाटै निर्वाचित उपमेयर जोगराज चौधरीले आफुलाई काम दिनुपर्यो भनेर कोटेशन मागेर पनि काम गुणस्तहिन गरेको बताएका छन ।
बेलौरी नगरपालिका उपप्रमुख चौधरीले विष्टलाई काम दिएको स्वीकार गरेका छन । बेलौरी नगरपालिका–१० भुडामा कोटेसनमार्फत सडक ग्राभेल गरेका विष्टले गुणस्तरहिन टालटुले काम गरी भुक्तानी लिएको पाइएको छ। निर्माण नसकिदै कार्य सम्पन्न भएको प्रतिवेदन बनाएर उनले रकम बुझेपछि जनप्रतिनिधि नै छक्क परेका छन । ‘आफैँ नगरपालिकाको प्राविधिक, बुवाको कम्पनीबाट आफै’ कोटेसनमा काम गर्दै आएका विष्टले यसपटक असार मसान्त आउदै गर्दा हतार–हतारमा सडक ग्राभेलका नाममा टालटुले काम गरेको नगरपालिकाका एक कर्मचारीले बताए। भुडास्थित भरथरि चौधरीको खेतदेखि दिल्ली बस्नेतको खेतसम्म जाने सडक ग्राभेल गर्दा विष्टले लापरबाही गरेको पाइएको छ। गुणस्तरीय काम नभएको, सडकमा आवश्यकता अनुसारको १५ सिएमको ग्राभेल नहालेको स्थानीयले बताए। सडक छेउमा ग्राभेल थुपारेपनि बीचमा चाहिने जति नबिछ्याएको उनीहरुको भनाई रहेको छ। उक्त क्षेत्रका किसानहरुले गत वर्ष खेतसम्म जाने सडक खोलेका थिए। उक्त सडकमा नगरपालिकाले आव ०७९/०८० मा बजेट हालेको थियो। त्यो बजेटलाई कोटेसन बनाएर ग्राभेल हालिएको हो। कोटेसन मार्फत बाटोमा थोरै ग्राभेल हालेर बजेट पचाइएको स्थानीयको आरोप छ। ‘छेउ–छेउ तर्फ बढी ग्राभेल हालिएको छ, बीचमा थोरै छ। नाली पनि निर्माण गरिएको छैन।
ग्राभेल बगेर खेततर्फ गइरहेको छ,’ एक जना किसानले भने। ६ मिटर सडक मात्रै पास हुने प्रावधान छ। तर सब इन्जिनियर विष्टले ५ मिटरमै सडक पास गरी भुक्तानी लिइसकेको पाइएको छ। ३ सय ८६ मिटर लम्बाई र ६ मिटर चौडा सडक निर्माणका लागि बेलडाँडी गाउँपालिका–१ ठेगाना भएको लटिनाथ निर्माण सेवाले नगरपालिकासँग खरिद ऐन अनुसार सम्झौता गरेको नगरपालिकाका सब इन्जिनियर लोकेन्द्र जोशीले बताए। उक्त फर्म सब ओभरसियर विष्टका बुवा कालुसिंह विष्टका नाममा दर्ता छ। ९ लाख ६३ हजार ४ सय ७८ रुपैयाँमा काम गर्ने सम्झौता भएको थियो। सडक ५ मिटर चौडा मात्र बनेको छ। ६ मिटर चौडा हुनुपर्ने उक्त सडक ५ मिटर चौडा मात्रै बनेको र रोलर समेत नलगाई पास गरिएको छ। तर रोलर लगाएर सडक ग्राभेल गरिएको भन्दै ८ लाख ४३ हजार २ सय ६६ रुपैयाँ भुक्तानी भइसकेको छ। बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले विष्टलाई काम दिएको स्वीकार गरेका छन । ‘स्थानीय आफैले खेतसम्म जान १ किलोमिटर जति बाटो खोलेका थिए। त्यसमा ग्राभेल हालिदिन अनुरोध गरे, नगरपालिकासँग बजेट थिएन,’ उनले भने, ‘राजेन्द्र जीले म काम गर्छु नयाँ आर्थिक वर्षमा भुक्तानी लिने भनेपछि काम दिइएको हो।’आफ्ना गाडीहरु त्यत्तिकै थन्किएको दुखेसो गरेपछि विष्टलाई उक्त कामको जिम्मा दिइएको उपप्रमुख चौधरीले बताए। बेलौरी नगरपालिका–१० का वडा अध्यक्ष सोमलाल चौधरीले उपभोक्ता समितिमार्फत काम गर्ने योजना भएपनि असार अन्तिम भएकोले पालिकाले कोटेसनबाट सडक ग्राभेल गराएको बताए ।
‘मैले पनि सडक निरीक्षण गरे, ठिक ढंगले काम भएको छैन। ग्राभेल थप्न भनेको छु,’ वडा अध्यक्ष चौधरीले भने रकम भुक्तानी भइसकेको जानकारी गराएपछि उनले थप कुरा गर्न चाहेनन् । ‘पैसा भुक्तानी भएको मलाई थाहाँ छैन, त्यसबारे बुझेरै मिडियामा बोल्छु,’ वडा अध्यक्ष चौधरीले भने । कर्मचारी परिवारकै निर्माण कम्पनीले गरेको काम गुणस्तहिन भएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहार गरेका छन । बेलौरी नगरपालिका सव ईन्जिनियर राजेन्द्र विष्टले आफुले उक्त कोटेशनमा अाफ्नाे कुनै भुमिका नरहेको प्रतिकृया दिएका छन । यस सुदुरदर्पणका पत्रकारसंग प्रतिकृया दिर्दै सव ईन्जिनियर विष्टले उक्त कोटेशन दिने आफ्नो अधिकार पनि नभएको र आफुलाई जानकारी समेत नभएको बताए । तर, भित्रकै कर्मचारीले सव ईन्जिनियर तथा सुचना अधिकारीले मागेर कोटेशन लिएको भन्दै आएका छन । उनले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।






