झलारी : नेपाल कम्युनिस्ट पार्टी (विप्लव ) निकट महिला संगठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी कञ्चनपुर जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । बुधबार जिल्लाको झलारीमा भएको भेलाले समीक्षा सी को नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै भेला सम्पन्न भएको हो । भेलामा सहभागी महिलाहरुले एक आपसमा शुभकामना आदानप्रदान गर्दै आजै परेको ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०७९ पनि मनाएको छ । प्रथम भेलामा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज समर सिले आफ्नो पार्टीले महिलालाई दोस्रो दर्जाको नागरिक होइन बराबर अवसर र बराबर दर्जा दिनुपर्ने मान्यता अघि सारेको बताए ।

विगतमा पुरुष प्रधान समाजले महिलाका अधिकारहरू कटौती गर्दै महिला माथि उत्पीडन थप्दै गएको र अहिलेको दलाल संसदीय व्यवस्थाले पनि यसैको निरन्तरता दिइरहेको छ , नेकपा नेता समरले भने । गैर एनजीओ आएनजीओ संस्थाहरुले सोझासाझा महिलाहरुलाई अधिकारका नाममा झन् ठूलो हिंसा गर्ने काम गरिरहेका छ उनले बताए । समाज विकसित युगमा प्रवेश गर्दा पनि विशेष गरी सुदूरपश्चिमका जिल्लाहरुमा छाउपडी प्रथा जीवित रहनु दुःखत रहेको बताउँदै यस्ता खाले घरेलु हिंसाका विरुद्ध क्रान्तिकारी महिलाहरुले संघर्ष गर्नुपर्छ, नेता समरले भने । यो देशको पुरूष प्रधान समाजले महिलालाई अवसर नदिएर सुनियोजित रुपमा उत्पीडनमा पारेको बताउँदै अब गाउँ समाजमा सम्पूर्ण महिलाहरूमा राजनीतिक जागरण पैदा गराउनुपर्ने समेत उनको भनाइ थियो । नेकपा महाकाली ब्युरो इन्चार्ज समर ले भने , “पछिल्लो समय गाउँमा लघुवित्त, बैंकले महिलालाई भुलभुलैयामा पारेर लुट मच्चाउने काम गरिरहेको छन त्यो गलत छ त्यस्ता दलाली गर्नेलाई क्रान्तिकारी महिलाहरुले तह लगाउन सशक्त भूमिका निर्वाह गर्नुपर्छ ।”

यो राज्यको संरचनाले महिलालाई आर्थिक रूपमा कमजोर बनाएको र नेकपा ले महिलालाई आत्मनिर्भर बनाउन एक महिला एक रोजगारी उपलब्ध गराउन संघर्ष गर्ने भेलामा सहभागी अतिथि तथा नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सि ले बताए । आजको समाजमा महिलाले आफ्नो अधिकारको निम्ति लड्नु सक्नु पर्छ र विद्रोही चेत निर्माण हुनुपर्ने , इन्चार्ज विराट सि ले भने । विश्वकै महिलाको मुक्ति भएको दिन आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस रहेको सम्झिदै महिलाको पूर्ण रुपमा मुक्ति अझै नभएको अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य ममता सी ले बताइन् । विश्वका हरेक परिवर्तन र क्रान्तिको आन्दोलनमा महिलाको ठूलो भूमिका छ र महिलाहरु क्षमता नभएर पछाडि नपरेको जिकीर गर्दै यो समाजले जबरजस्ती महिलालाई अधिकारबाट वञ्चित गराएको छ, नेतृ ममताले भनिन् । यो दलाल राज्य व्यवस्थाकै कारण महिलाहरु विदेशीको गल्लीमा बेचिनु पर्ने स्थिति रहेको उनले बताइन् ।महिलाहरूलाई महिला भएकै कारण यदि कसैले अधिकारबाट कुण्ठित गर्ने दुसाहस् गर्छ भने आफ्नो संगठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले त्यसको विरुद्ध सशक्त प्रतिवाद गर्ने नेतृ ममताको भनाइ थियो । झालारीको रमाइलो रेस्टुरेन्टको हलमा संयोजक समीक्षा सि को अध्यक्षतामा भएको भेलामा पार्टीका अन्य नेता कार्यकर्ताहरुहरु सहित सयौ महिलाको सहभागिता रहेको थियो ।







