दोधारा चाँदनीको बादी समुदायको दशैं खल्लो बन्दै

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी–३ बडवाल टोलका बादी घरपरिवार दशैं मनाउनका लागि कर्जा खोज्नमा जुटेका छन् । बादी घरपरिवारले मजदुरी नपाउदा बेखर्ची भएका हुन् । दोधारा चाँदनी नगरपालिकाका बिभिन्न गाँउ, बस्ती चहारेर माँगी खाने तथा ज्याला मजुरी नगरि उनिहरुको चुल्होमा आगो बल्दैन । गाँउ बस्तीमा माँग्न जाँदा गाँउलेहरुले दिन छाडेपछि उनिहरु ज्याला मजुरी गर्न थालेका हुन् । आज भोली ज्याला मजुरी समेत नपाएपछि बादी घरपरिवारलाई खानाकै समस्याले पिरोली रहेको छ् । भारतीय सीमावर्ती बजार र गाँउ घरमा ज्याला मजुरी गर्न नपाएपछि बेखर्ची भएको बिष्णु बादीले बताए । ‘जुन ठाँउमा जे मजदुरी पाउछौं । त्यसबाटै साँझ बिहानको खर्च मुस्किलले जुटेको छ् । दशैं आएको छ, मिठोमसिनो खाने, नयाँ लुगा किन्ने क्षमता नै छैन्’ बिष्णु बादीले भने । दशैंका लागि धेरै ठाँउमा कर्जा खोज्न गए पनि नपाएको उनले बताए । ‘भारत गएर ज्याला मजदुरी गरेर कर्जा तिर्छु भनेर धेरै ठाँउमा पुगे, कतैबाट पनि कर्जा पाईएन्’ बादी बस्तीका अर्का बादी रेशम बादीले भने । ‘तिर्ने आधार के हो भनेर खोध्छन् कसैले पनि कर्जा दिन मानेका छैनन्’ रेशम बादीले भने– ‘मिठो मसिनो खाने, परिवारका लागि नयाँ लुगा किन्ने, वर्षमा एक पटक भए पनि मासु खाने इच्छा दशैं जस्तो चाडपर्वमा कसलाई हुदैन । त्यो हाम्रो पनि थियो । ईच्छामै सीमित भएको छ् ।’ ‘वर्षमा एक पटक किनेको लुगा समेत फाट्न लागेको छ् । नयाँ किन्न सक्दैनौं’ उनले भने । बस्ती नजिकैका गाँउमा दशैंको रौनकताले छपक्कै ढाकेको भए पनि बादी घरपरिवार भने दशैंमा के गरेर बनाउने भन्ने पीरलोमै बस्न बाध्य छन् । जनप्रतिनिधी तथा नेताहरुले केही व्यवस्था गरिदिन्छन कि भनेर आशामा बसेका बादी समुदायले बस्नका लागि गतिलो घर समेत पाएका छैनन् । झोपडीमा त्रिपाल राखेर बादी घरपरिवार बडवाल टोलमा बस्दै आए पनि सुख–दु:ख सोध्ने कोही छैन् । ‘चाडपर्व पनि हुने खानेका लागि रहेछ् । समाजमा पछाडी पारिएको, आर्थिकरुपमा विपन्न, समाजको शोषणमा परेको समुदाय भएपनि अझै न्याय पाउन सकेका छैनौं’ बादी घरपरिवारको अगुवा बिरभाने बादीले भने । बस्ती घरपरिवारका बालबालिकाको विद्यालयबाट बन्चित छन् । पढ्ने रहर भएपनि उनिहरु संग जन्म पञ्जीका नहुदा र आमा बुवाको नागरिकता नहुदा बिद्यालयमा नाउ दर्ता गर्न सकेका छैनन् । दोधारा चाँदनी नगर क्षेत्रमा बितरण हुदै आएको जनता आवासको व्यवस्था गरी दिन बादी घरपरिवारले माँग गरेका छन् । रोजगारीका अवसरहरु समेत प्रदान गरी सहज जिवनयापन गर्ने वातावरण कायम गरिदिन सरकार संग उनीहरुको माँग रहदै आएका छन् । तत्कालिन नेपाल सरकार र बिद्रोही माओबादी बिच भएको द्धन्द्धका कारण बिस्तापित भएका ५ बादी घरपरिवार केही महिना अघि मात्रै फर्केर आफ्नो जग्गा खोज्न थालेका हुन् । उनिहरुले राजनितिककर्मी, जनप्रतिनिधी, मानवअधिकारकर्मी, पत्रकारहरुलाई आफुले द्धन्द्धकालमा छाडेका जग्गा दिलाई पाँउ भनि आग्रह गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयले बादी घरपरिवारको जग्गाको बिषयमा दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष भक्त बहादुर सुनारको संयोजकत्वमा बादी घरपरिवारको जग्गा छानबिन समिति गठन गरि छानबिन अघि बढाउन निर्देशन समेत दिएका हो । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष भक्त बहादुर सुनारको संयोकत्वमा बनेको बादी घरपरिवार जग्गा छानबिन समितिले बादी घरपरिवारको जग्गा स्थलगत छानबिन गरि दोधारा चाँदनी नगरपालिका कार्यालयलाई प्रतिबेदन समेत पेश गरेको छ् । विगतमा जमिन्दारी प्रथाले शोषण भएका थिए भने, अहिले नेपाल सरकारले बादी समुदायको मर्म र समस्या नबुझेका कारण शोषित हुदै आएका छन् । आफ्नो निजी जमिन र सम्पत्ति नभएका बादी समुदायका सर्वसाधारण जिवन निर्वाह र आधारभूत आवश्यकता पुरा गर्नका लागी बादी घरपरिवार अन्तीम संघर्षमा छन् । आफ्ना र अर्काका पीडा गीत मार्फत सुनाउदै दैनिकी चलाउन खाद्यान्न संकलन गर्दै आएको यो समुदाय अहिले नयाँ जीवन जिउने रणनीति बनाउन अनेक उपाय लिएर सपना बुनेको छ् । तर उनिहरुको सपना, सपनै बनेर रहेको छ् । अबका दिनहरुमा आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेका उनिहरु बताउछन् । ‘हाम्रो ईच्छा स्थानीय सरकारले जग्गा उपलब्ध गराईदेओस् भन्ने छ्’ सितली बादीले भने । स्थानीय सरकारले जग्गा सहित आय आर्जन गर्न र जिवन जिउने गतिलो उपाय सहितको योजना ल्याएर श्रम गर्ने वातावरण सिर्जना गरोस् भन्ने उनिहरुको माँग रहेको सितली बादी बताउछन् । देशकै सबै भन्दा पछाडि परेको र सबै भौतिक हक तथा सुविधाबाट वञ्चित भएका छन् बादी समुदाय हो ।

ताजा समाचार

This will close in 10 seconds