कञ्चनपुर
कञ्चपुर जिल्ला प्रशासन कार्यालयबाट बैशाख ३१ गते सम्म तोकिएको निषेधाज्ञा (लकडाउन)को समयाअवधि थप गरि जेष्ठ ७ गते राती १२ बजे सम्मको लागि कायम गरिएको छ । जिल्लामा नयाँ भेरियन्ट सहितको कोभिड–१९को संक्रमण दिनप्रतिदिन उच्चदरमा फैलिदै गएकोले समय अवधि बढाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लकडाउनको अवधिमा पहिले भन्दा कडाईका साथ पालना गर्नुका साथै सब्जी मण्डी लगायत सबै हाटबजार बन्द गरिएको छ । आइतबार, मंगलबार र विहीबार विहान ६ बजे देखि ९ बजे सम्म सञ्चालन हुदैं आएको खाद्य वस्तु/तथा सब्जी पसल बैशाख ३१ गते १२ बजे पछि आइतबार र बुधबार सञ्चालन गर्न पाइने छ भने तरकारी तथा फलफुल आपूर्तिका लागि सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य संघको समन्वयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरी घुम्ती पसल सञ्चालन गरीने छ। विवाह तथा व्रतबन्धको हकमा बढीमा १० जनासम्म मात्र सहभागी हुन पाउने छन्, भने विवाह तथा ब्रतबन्धको लागि होटेल तथा पार्टी प्यालेस प्रयोग गर्न पाइने छैन ।

साथै कोभिड –१९ को कारण देखाई दैनिक उपभोग्य वस्तु, स्वास्थ्य सामाग्रीहरुको बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने, म्याद सकिएका खाद्यवस्तुको रिलेबलिङ गर्ने जस्ता कार्य गर्नेलाई कडा भन्दा कडा कारवही गरिने, तथा आदेशको उल्घंन गर्ने वा आदेशको पालना नगर्नेलाई कानुनी कारवाही भैजाने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

