बैतडीमा एक किशोरीको शव फेला

बैतडी

बैतडीमा एक किशोरीको शव फेला परेको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –७ चडेपानीकी १७ बर्षीया भागरथी भट्टको शव लवलेक जङ्गलमा फेला परेको बैतडी प्रहरीले जनाएको हो। बुधवार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर शव हत्या गरी फालिएको अवस्थामा लवलेक जङ्गलमा फेला परेको मृतकका आफन्त भोजराज भट्टले जानकारी दिए।

किशोरीको शव फेला परेको जानकारी आइसकेपछि घटनास्थलमा प्रहरीको टोली खटाएको र आफैँ अनुसन्धानका लागि घटनास्थल तर्फ जान लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। किशोरीको शरीरमा घाउ रहेको उनले बताए। किशोरीको कसले किन हत्या गरेको हो भन्ने विषयमा अहिले यकिन नभएको उनले बताए। घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुर समेत मगाइसकेको उनले बताए।

भट्टको बलात्कारपछि हत्या गरिएको मृतकका आफन्तले आशङ्का गरेका छन्। किशोरीका बुवाको एक महिना पहिले मात्रै मृत्यु भएको र किशोरीको बलात्कार गरी हत्या गरेको हुनसक्ने स्थानीय भोजराज भट्टले आशङ्का व्यक्त गरे। उनले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कारबाहीको माग गरेका छन्।

ताजा समाचार

This will close in 10 seconds