भीमदत्त नगरपालिका १६ बाल उद्यान निर्माणमा अनियमितता भएको भन्दै वडा कार्यालयमा तालाबन्दी

पुष्कर भट्ट/ कञ्चनपुर

गत आर्थिक बर्ष २०७६÷०७७ असार मसान्तमा कञ्चनपुरको भीमदत्त नगरपालिका १६ मझगाउँ परखेडी स्थित सरस्वती माविको प्राङगणमा बाल उद्यान निर्माण गरियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंगै जोडिएको विद्यालयको जमिनमा भीमदत्त नगरपालिका क्षेत्रीय शहरी विकास आयोजना र नेपाली सेनाको संयुक्त लगानीमा बाल उद्यान निर्माण गरिएको हो । भीमदत्त नगरपालिकाको २० लाख र नेपाली सेनाको २१ लाख लागतमा बाल उद्यान निर्माण गरिएको वडा कार्यालयले जनाएको छ ।

भीमदत्त नगरपालिका १६ का वडाध्यक्ष सुरेन्द्र विष्टले पर्यटनका लागि नगरपालिकाबाट पार्क स्थल निर्माण र नेपाली सेनाको बजेटबाट समाग्री खरिद गरिएको बताए । ‘फिल्ड लगायतका संरचना नगरपालिकाको बजेटबाट गरिएको हो, ‘वडाध्यक्ष विष्टले भने, ‘बाल उद्यानका समाग्री नेपाली सेनाको २५ लाख लागत मध्ये घटाघटी गरि २१ लाखमा खरिद गरिएको हो ।’ पार्क निर्माण कार्य सम्पन्न भएको महिना दिन नपुग्दै स्थानीयले पार्क निर्माण अनियमितता भएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । बजेट अनुसार पार्क निर्माण नभएकाले छानबिनका लागि वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । मंगलबार नेपाली काँग्रेस र राप्रपाका नेताहरुको अगुवाईमा स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेर अनियमितता छानबिनको माग अघि सारेका हुन् ।

उनीहरुले अनियमितता छानबिन नहुन्जेलसम्म तालाबन्दी नखोल्ने अडान लिएका छन् । स्थानीय एव नेपाली काँग्रेसका नेता रतन धानुकले पार्क निर्माणमा भ्रष्टाचार भएकाले तालाबन्दी गरेको बताए । लाखौँ बजेट खर्चिदा समेत पार्क पार्क जस्तो नभई कमसल खालका समाग्री जडान भएको उनको आरोप छ । पार्क निर्माणमा विदेशमा रहेका व्यक्तिको नाम देखाएर बजेट कुम्ल्याउने काम मात्रै भएको दावि गरेका छन् । ‘मानिस यहाँ गाउँमा छैनन, कामदारको लिष्टमा उनीहरुको नाम राखिएको छ, ‘उनले भने, ‘यतिसम्म बदमासी गरेर अनियमिता गरेका छन् ।’ राप्रपा युवक सगठन कञ्चनपुरका अध्यक्ष तुल ब. थापाले पार्कमा हाकाहाकी नाङगो भ्रष्टाचार गरेको आरोप लगाए । ‘भित्र राखिएका समाग्री तथा बाहिरबाट हेर्दा पनि पुरै कमजोर देखिन्छ, किर्ते काम गरेर लुट मच्चाएका छन् ।’ रकम ठुलो भएपनि काम कम भएकाले स्थानीयले आन्दोलित भएको उनले बताए । निर्माण समाग्री तथा अन्य समाग्री खरिदमा मुल्य अनावश्यक बृद्धि गरेर भ्रष्टाचार गरेकाले बाध्य भएर तालाबन्दी गरेको उनको भनाई छ ।

‘विदेशमा रहेका स्थानीयको हाजिरी गराएर किर्ते दस्तकत गराएर रकम निकासा गरिएको छ, ‘उनले भने, ‘यतिसम्म नाङ्गो भ्रष्टाचार हुँदा पनि सबैतिर तैचुप मैचुपको अवस्था देखिएको छ ।’ भुक्तानी लिदा समेत नगरपालिकालाई गुमराहमा राखेको उनको भनाई छ । बाल उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष दिल्लीराज पनेरु नेतृत्वको समितिबाट भ्रष्टाचार भएकाले छानबिनका लागि सम्बन्धीत पक्ष र निकाय चुपचाप भएकाले कतै मिलिजुली भ्रष्टाचार भएको उनले आशंका गरेका छन् । पार्क निर्माणमा भएको अनियमितता छानबिन गरेर दोषि उपर कार्बाही नगरुन्जेलसम्म आन्दोलन नरोक्ने उनले चेतावनी दिए । सात दिन काम गरेका मजदुर उद्धव बहादुर धानुकले काम गरेभन्दा बढि दिन हाजिरी देखाईएको बताए । ‘मैले सात दिन काम गरेको हुँ, ‘उनले भने, ‘मेरो ३१ दिन देखाएर रकम निकासा गरिएको रहेछ ।’ एक मिस्त्री दुई जना लेबरबाट काम गरिएको बताउदै उनले धेरैको नाम किर्ते गरेर रकम कुल्याएको उनले पनि आरोप छ ।

उपभोक्ता समितिले बाल उद्यान निर्माणमा भ्रष्टाचार नभएको जनाएको छ । उपभोक्ता समितिका सचिव राजेन्द्र बहादुर चन्दले आफु उपभोक्ता समितिमा बस्न नपाएको झोकमा भ्रष्टाचार भएको आरोप लगाउन काँग्रेसका स्थानीय नेताहरु उद्यत भएको बताए । ‘भ्रष्टाचार भएको छैन, ‘उनले भने, ‘यो सरासर राजनीतिक प्रतिशोध मात्रै हो ।’ आफ्नो पहलमा नेपाली सेनाले बजेट दिएको बताउदै उनले गाउँका विकास आउँदा केही विकास बिरोधी समुहले काम सम्पन्न भएपछि अनावश्यक आरोप लगाईरहेको बताए । आफ्नो पहलमा नेपाली सेनाले बाल उद्यानमा सहयोग गरेको बताउदै उनले गाउँ वडाको विकासमा अनावश्यक बखेझा झिकेको बताए । विदेशमा रहेका मान्छेको नाममा निकासा गरेको आरोप पनि निराधार भएको बताउदै अनियमितता भएको भए प्राविधिक विज्ञबाट नापचाँज गर्न लगाउन सकिने बताए । ‘अहिले मदिरा सेवन गराएर उस्काईरहेका छन्, ‘उनले भने, ‘समितिमाथिका सबै आरोप निराधार हुन् ।’ गाउँठाउको विकास निर्माण गर्दा अनेकन आरोप खेप्नु परेको बताउदै कानुनी प्रकृयामा जान समेत उनले अनुरोध गरे ।

लकडाउनका बेला मरिमेटी गरेर काम गरेपनि जस पाईनुको साटो उल्टो आरेप खेप्नु परेको उनले दुखेसो पोखे । पार्क निर्माणपछि संचालनबारे अझै निक्यौल समेत भएको छैन् । विद्यालयको समेत सम्पत्ती जोडिएको बताउदै उनले भविष्यमा अझै विस्तार गर्न सकिने बताउदै शुरुवातमै अनावश्यक बिरोध भईरहेको बताए । विद्यालयको दुई विगाह जमिनमा उक्त बाल उद्यान निर्माण गरिएको हो । भीमदत्त नगरपालिका १६ का वडाध्यक्ष सुरेन्द्र विष्टले गाउँमा विकास निर्माणका काममा केही व्यक्तिले अनावश्यक विवाद झिकेर भ्रष्टाचार भएको आरोप निराधार भएको बताए । उनले नगरपालिका र सेनाविचको सहकार्यमा भएको योजनामा भ्रष्टाचार नभएको दावि गर्दै दैनिक काममा त्रृटी भए अध्ययन गरिने बताए । ‘काँग्रेसका नेता ज्यूहरुले उपभोक्ता समितिबाट भ्रष्टाचार भएको छ, ‘छानबिन गरिदेउ भनेर मलाई पत्र बुझाएका छन, ‘वडाध्यक्ष विष्टले भने, ‘यदी दैनिक काममा केही अनियमितता भए नभएको भए छानबिन गछौँ ।’

ताजा समाचार

This will close in 10 seconds