पहिलाद राना
कञ्चनपुरको लालझाडी गाउँपालिमा बिरुवा तिवरण गरिन लागिएको छ । लालझाडी सव डिभिजन वन कार्यालय सुख्खडघाटले असार अन्तिम सातादेखि बिरुवा वितरण शुरु गरेको हो । पर्यावरण, वातावरण, वन र वन्यजन्तु संरक्षणका लागि कञ्चनपुरको लालझाडी गाउँपालिकामा ८० हजार बिरुवा उत्पादन गरेको थियो ।
चालु आर्थिक बर्ष ०७६/०७७ मा उत्पादन गरिएका विभिन्न प्रजातिका बिरुवा साउनमा वितरण हुने छन् । लालझाडी सव डिभिजन वन कार्यालय सुख्खडघाटका कार्यालय प्रमुख करुणाकर जोशीले महादेव सामुदायिक वनबाट बिरुवा वितरण शुरु गरिएको बताए । उनका अनुसार उक्त सामुदायिक वनमा बृक्षारोपण समेत गरिएको छ । ‘सात हेक्टरमा विभिन्न प्रजातिका बिरुवा रोपेका छौँ, ‘उनले भने, ‘महादेव सामुदायिक वनमा तारबार समेत गरिएको छ ।’ महादेव सामुदायिक वनका अध्यक्ष पप्पु रानाले बृक्षारोपणको उद्घाटन गर्दै वन संरक्षण गरिने बताए ।
किसानलाई निःशुल्क वितरण गरिन लागिएको छ । ‘उत्पादन गरिएका बिरुवा किसानलाई व्यक्तिगत एव संस्थागत रुपमा वितरण गरिरहेका छौँ, ‘उनले भने, ‘किसानले व्यक्तिगत खेत र सामुहिक रुपमा सार्वजनिक जमिनमा बिरुवा रोप्छन् ।’