भीमदत्तका मेयर विष्टका तीन वर्ष पूरा, जनप्रतिनिधि सहित सबैमा धन्यवाद

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगर प्रमुख निर्वाचित भएको तेस्रो वर्ष प्रवेशमा जनप्रतिनिधि सहित सहयोगी सबैमा आभार व्यक्त गर्र्दै धन्यवाद दिएका छन् । नगर प्रमुख विष्टले बिहीबार वक्तव्य मार्फत तीन वर्षदेखि नगरको विकासका लागि निर्वाचनमा गरिएका प्रतिवद्धता पूरा गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।

२०७४ असार १४ गतेको स्थानीय तह निर्वाचनमा निर्वाचित मेयर विष्टले असार २४ गते पद तथा गोपनियताको शपथ लिएका थिए । उनी भीमदत्तको मेयरमा निर्वाचित भएको तीन वर्ष पूरा भएको छ । मेयर विष्टले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहको निर्वाचनको दिनलाई स्वर्णिम दिनका रुपमा स्मरण गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले व्यवस्था गरे बमोजिमको तीन तहका सरकारहरु मध्ये स्थानीय तह (स्थानीय सरकार)को निर्वाचन सम्पन्न भएको स्वर्णिम दिनलाई म एक पटक स्मरण गर्न चाहन्छु’ नगर प्रमुख विष्टले वक्तत्वमा भनेका छन् । भीमदत्त नगरपालिकाका नगर वासिन्दाको साथ र समर्थनले नगर प्रमुखमा निर्वाचित भएको उल्लेख गर्दै उनले नगर विकासको सेवा गर्ने मौका दिएकोमा आभार व्यक्त गरेका छन् ।

स्थानीय तह निर्वाचनमा गरिएका प्रतिवद्धता पूरा भए नभएको इतिहासले समीक्षा गर्ने नगर प्रमुख विष्टले बक्तव्यमा उल्लेख गरेका छन् । उनले भनेका छन्,‘ नगर प्रमुख पदमा निर्वाचित भएको दिन देखि आजका दिन सम्म आईपुग्दा समग्र नगरको विकास र समृद्धिका लागि मैले के कति गर्न सके वा सकिन इतिहासले समीक्षा गर्ने नै छ ।’ तीन वर्षमा स्थानीय, प्रदेश र संघीयका सबै जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, उद्यमी, व्यवसायी, सञ्चार, कर्मचारी सबैमा सहयोग पाएको उल्लेख गर्दै आगामी अबका दुई वर्षमा पनि सबैको सहयोग पाउने आशा व्यक्त गरिएको छ ।

ताजा समाचार