भारतीय पक्षले हुलाकी राजमार्ग निर्माणमा अवरोध

कञ्चनपुर

सुदूरपश्चिम प्रदेशमा भारतीय पक्षले कुनै युद्धकै जस्तो गरि हतियार फौजफक्ड जत्था ल्याएर नेपालमा बनिरहेको हुलाकी राजमार्ग निर्माणमा अबरोध गरेका छन् । पश्चिम कञ्चनपुरदेखि तराईका जिल्ला हुँदै पुर्व झापा जोड्ने नेपालकै दोस्रो लामो राष्ट्रिय हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अवरोध गरेको छ । आइतबार भारतीय सुरक्षाकर्मी सहित प्रशासनिक अधिकारीको समुह निर्माण स्थलमै आएर सडक अवरोध गरेको हो

भारतीय पक्षले ठिक एक बर्षपछि पुनः हुलाकी राजमार्ग अवरोध गरेको छ । गत असारमै भारतीय पक्षबाट भारतीय सीमा सुरक्षा बल(एसएसबी) आएर अवरोध गरेका थिए । यस बर्ष एसएसबी सहित भारतीय प्रशासनिक अधिकारी आएर निर्माण भईरहेको काम रोकिएका हुन् । कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय पक्षले अनावश्क विवाद झिकेर हुलाकी सडक कालोपत्रेको काम अवरोध गरेको स्थानीयले बताएका छन् । स्थानीय एव शिक्षक बुद्धिजिवी विवेक लम्सालले भारतीय रबैया र दादागिरीशैलीले नेपाली भूमिमै आएर सडक निर्माण कार्य रोकेको बताए ।

‘ठुलै फौज जत्था लिएर आएका थिए, ‘उनले भने, ‘सडकको काम रोकेर गए ।’ निर्माण कम्पनीसंग काम नगर्न भनेपछि आइतबारदेखि काम रोकिएको छ । भारतीय पक्षले अघि सारेको कदम निन्दनिय, नेपालको राष्ट्रियतामाथि नै धावा खोल्ने खालको भएको उनको भनाई छ । भारतीय एसएसबीले सडक निर्माण कम्पनी बाबाहंस सिद्धिकीका संचालक चक्र्र शाहलाई उक्त सडकखण्ड निर्माण नगर्न दवाव दिएपछि काम रोकिएको हो । भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर अनावश्क विवाद झिक्दै आएको छ । गत बर्ष ग्राभिलिङ्ग गर्दा भारतीय पक्षले अवरोध गरेको थियो, फेरी कालोपत्रे तयारी गर्दा रोकेको हुलाकी सडक निर्माण कम्पनीका संचालक चक्र शाहले एसएसबीले काम नगर्न दवाव दिएपछि काम रोकिएको बताए ।

एसएसबीले शाहसंग गत बर्ष उक्त क्षेत्रको १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न दवाव दिएका थिए । ‘हामी हाम्रो स्प्रीड अनुसार काम गरिरहेका थियौँ, ‘उनले भने, ‘भारतीय एसएसबीले काम नगर्न भन्यो, त्यही भएर अहिले त्यो ठाँउमा काम गरेका छैन ।’ सो सडकखण्डमा ७५ प्रतिशत बेस निर्माण गरिएको छ । कालोपत्रे गर्न मात्रै बाँकी थियो । बेलौरी नगरपालिका ८का वडाध्यक्ष नन्द कुमार रानाले भारतीय सुरक्षाकर्मी सहितका अधिकारी आएर उक्त सडक निर्माण कार्य रोकेको बताए । उनका अनुसार भारतीय पक्षले जिपिएस नक्साबाट उक्त सडक भारतको भूमिमा पर्ने दावि गर्दै काममा अवरोध गरेको छ । ‘माथिको विषय भन्दै रोकेर गए, ‘उनले भने, ‘भारतीय पक्षले जहिल्यै अवरोध गर्दै आएको छ ।’

आफ्नै भूमिमा सडक निर्माण गर्दा पनि भारतीय पक्षले अनावश्यक विवाद झिक्दै आएको उनले बताए । पटक पटक भारतीय पक्षले नेपाली भूमिमै निर्माण भईरहेको सडक निर्माण कार्य अनावश्यक अवरोध गर्ने कार्य नेपालको विकास हेर्न नचाहेको उपज भएको टिप्पणी गरिएको छ । छिमेकिको प्रगति हेर्न नसक्ने भारतीय पक्षले जहिल्यैपनि अवरोध गर्दै आएको स्थानीयको भनाई छ । नेपाली अधिकारीले भारतीय पक्षबाट अवरोध गरिएको हुलाकी राजमार्ग बारे भारतीय पक्षसंग वार्ता गरिने बताएका छन् । बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले यस बारेमा नेपाली सुरक्षा अधिकारी, प्रशासन सहितको टोलीले भारतीय पक्षसंग संयुक्त वार्ता गरेर निकास निकाल्ने बताए । छिमेकी भारतले जहिले पनि अवरोध गर्ने आफु नेपालको सीमा अतिक्रमण गरिरहने बानी परेकले अर्कालाई पनि त्यस्तै सोच्दा समस्य हुने गरेको छ ।

ताजा समाचार