कञ्चनपुरमा क्वारेन्टाइनबाटै फैलँदै संक्रमण

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिकाका दुई क्वारेन्टाइनमा ६ जना कोरोना संक्रमित भेटिए । तिनमा एक स्वास्थ्यकर्मीसमेत थिए । तिनको कन्ट्र्याक्ट ट्रेसिङका आधारमा दुवै क्वारेन्टाइनमा ६० जनाको स्वाब परीक्षण गर्दा थप १३ जनामा संक्रमण पुष्टि भयो ।

पुनर्वास नगरपालिका– ९ को दीपशिखर प्राविमा १४ र वडा नं. ५ को गौरीशंकर माविमा २ जनामा संक्रमण देखिएको हो । दीपशिखरमै क्वारेन्टाइनमा खाना बनाउने भान्से तथा परासन र त्रिभुवन बस्ती स्वास्थ्य चौकीमा कार्यरत २ स्वास्थ्यकर्मीमा समेत संक्रमण पाइएको छ ।

‘स्वास्थ्यकर्मी र भान्सेमा क्वारेन्टाइनबाटै संक्रमण भएको हो,’ पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबहादुर धामीले भने, ‘बाहिरभन्दा पनि क्वारेन्टाइनभित्र संक्रमण धमाधम फैलिरहेजस्तो छ ।’

पुनर्वासका सबै क्वारेन्टाइनमा गरी १ हजार ८३ जना बसेका छन् । एउटै क्वारेन्टाइनमा डेढरदुई सयसम्मलाई राखिएको छ । ‘अव्यवस्थित क्वारेन्टाइन र परीक्षण अभावले संक्रमण झनै फैलिन सक्छ,’ उनले भने, ‘क्वारेन्टाइनमा रहेकाहरूको धमाधम परीक्षण गर्न सके अवस्था सहज बनाउन सकिन्छ ।’

पुनर्वासका क्वारेन्टाइनमा रहेका ६ सय ४४ जनाको आरडीटी गर्दा २६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । तर उनीहरूको स्वाब परीक्षण हुन सकेको छैन । प्रादेशिक प्रयोगशाला धनगढीमा स्वाबको चाप अत्यधिक भएका कारण संकलन नै रोकिएको छ ।

भीमदत्त नगरपालिका–४ को महेन्द्रनगरस्थित वैजनाथ माविको क्वारेन्टाइनमा खटिएका दुई सुरक्षाकर्मीमा समेत संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी अमर थापाका अनुसार उनीहरू अन्यत्र पनि खटिएकाले क्वारेन्टाइन वा फिल्ड कताबाट संक्रमण फैलियो भन्ने यकिन हुन सकेको छैन ।

भीमदत्तमा पनि संक्रमितको संख्या १० पुगेको छ । तीमध्ये ६ जना क्वारेन्टाइनमा र ४ जना विभिन्न स्थानबाट आएर महाकाली अस्पतालको आइसोलेसनमा बसेकाहरु हुन् । ‘संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ, क्वारेन्टाइनमै भएकाले बाहिर संक्रमण फैलिने सम्भावना कम छ,’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले बताए ।

शुक्लाफाँटा नगरपालिकामा ११ महिनाको दूधे बालकमा संक्रमण देखिएपछि उनकै कन्ट्याक्ट ट्रेसिङका आधारमा २६ जनाको स्वाब परीक्षण गरियो । तीमध्ये एक जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा संक्रमितको संख्या ३४ पुगेको छ । तीमध्ये १ जना निको भएका छन् । अधिकांश संक्रमित क्वारेन्टाइनमा बसेकाहरू नै रहेको र तिनैबाट सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र भान्सेलाई समेत संक्रमण भएको हुन सक्ने जनस्वास्थ्य अधिकृत सिद्धराज भट्ट बताउँछन् ।

कार्यालयका अनुसार पुनर्वासपछि भीमदत्तमा १०, शुक्लाफांँटा नगरपालिका २, बेलौरी नगरपालिका, बेदकोट नगरपालिका र लालझाडी गाउँपालिकामा १र१ जनामा संक्रमण देखिएको छ । ‘क्वारेन्टाइनमा संक्रमण फैलिएको छ, समयमै यसको व्यवस्थापन र परीक्षण हुन नसके अवस्था गम्भीर हुन सक्छ,’ जनस्वास्थ्य अधिकृत भट्टले भने, ‘क्वारेन्टाइनमा रहेकाहरूको धमाधम परीक्षण हुन सके मात्रै संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ ।’

जिल्लाभरिमा आरडीटी पोजिटिभ आएका २४० जनाको पीसीआर परीक्षण हुन सकेको छैन । ‘कम्तीमा आरडीटी पोजेटिभ आएकाको मात्रै पीसीआर परीक्षण गर्न सके धेरै हदसम्म संक्रमण रोकिन सक्छ,’ भट्टले भने, ‘तर प्रादेशिक प्रयोगशालाबाट स्वाब संकलनमै रोक लगाइएको छ ।’ कार्यालयले भीमदत्त, बेलौरी, पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकामा गरी डेढ सयभन्दा बढी स्वाब परीक्षणका लागि पठाएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयका कञ्चनपुरका अनुसार जिल्लाका ९ वटै स्थानीय तहका १८२ क्वारेन्टाइनमा ६ हजार ६ सय ८६ जना बसेका छन् । क्वारेन्टाइनबाट हालसम्म ५ हजार ६ सय १२ जना घर गएका छन् । जिल्लाभरिमा ८ हजार ६९ जनाको आरडीटी र १ हजार १५ को पीसीआर परीक्षण गरिएको छ ।

‘आरडीटीभन्दा पनि पीसीआरमै बढी जोड दिनुपर्छ,’ महाकाली अस्पतालका डा. सरोज आचार्यले भने, ‘समयमा परीक्षण नहुँदा क्वारेन्टाइनमा संक्रमण फैलिने जोखिम निकै बढी हुन्छ ।’

उनले क्वारेन्टाइनको उचित व्यवस्थापनसँगै परीक्षणको दायरा बढाएर संक्रमण रोक्न सकिने बताए । महाकाली अस्पतालमा अहिले ३३ संक्रमितको उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

ताजा समाचार

This will close in 10 seconds